घर बनाउन आलोपालो
१२ जेठ, बन्सार (लमजुङ) । टापगाउँमा महाभूकम्पले भत्काएकामध्ये सोमबहादुर गुरुङको घर बन्दै छ। बन्सार ८ र ९ टापगाउँका घर बनाउन ८० घरका १/१ जना ३ समूहमा बाँडिएका छन्। गाउँका ४० घर पूर्ण र बाँकी सबैमा आंशिक क्षति पुगेपछि पुनर्निर्माण गर्न गाउँलेले ५/५ दिनको श्रमदान दिने निर्णयमा पुगेका हुन् । ‘यो काम आलोपालो गर्ने हो,’ घरको गाहारो लगाउँदै गरेका वडा ९ का संयोजक सुकबहादुर गुरुङले भने, ‘एउटाको नसकेसम्म त्यहाँ खट्छौँ। सकिएपछि अर्कोमा जान्छौं।’
अहिले तत्काल वर्षायामका लागि जोहो गरेको र हिउँद लागेपछि राम्रोसँग पुनर्निर्माण गरिने उनले बताए। ‘भत्किएको तला सक्नेको दुई तला नै बनाएका छौँ। नसक्नेको एकै तला जसरी पनि ठडयाएका हौं,’ उनले भने, ‘मेरो घर पुर्यो, मेरो घर गयो, मसँग पैसा छैन भन्ने स्थिति पछिसम्म नहोस् भन्ने उद्देश्यले गाउँ नै मिलेर घरघर बनाउन लागेका हौं।’ घर बनाएबापत दिनभरिको श्रम सित्तैमा भए पनि सल्लाहअनुसारै दिउँसोको खाजा र बेलुकीको खाना घरधनीले दिने गरेका छन्।
टापगाउँका बासिन्दाले सामूहिक रूपमा १५ घर बनाइसके। ‘आफ्नो घर बनाउन सरकारको मुख ताकेनांै। घर भत्केर बारीमा बसेका हामी आफ्नो घर आफैँ बनाउँछौं।’ माटो मुछ्दै गरेका दूधप्रसाद गुरुङले भने। उनका अनुसार एउटै घर बनाउने ३ भागमा बाँडिएर काम गरिरहेको छ। ‘पुरुष नसक्ने र नहुने घरका महिलालाई पानी भर्नेदेखि माटो सार्ने काममा लगाइन्छ,’ उनले भने, ‘त्यसपछि एउटा टोली पर्खाल हाल्ने र अर्कोले भत्किएको छानो सँगाल्ने गर्छन्।’ पाँचौं दिनको अन्तिममा पुगेर छानो राख्ने काम गरिएको उनले बताए।
स्थानीयले बढी भत्केको घरलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छन्। ‘१२ गतेको भूकम्पले एकसुर भत्कायो, २९ कोले पूरै ढलायो,’ दमबहादुर गुरुङले भने, ‘जसको एकमाना जोगिन नसक्ने गरी भत्किएको छ, जसलाई छिटो आवश्यक छ, उसको प्राथमिकतामा परिन्छ।’ अन्यत्र ठाउँमा पाल नपाएर, खाद्यान्न नपाएर झगडा गरेको सुनिए पनि आफूहरू घर बनाउन कुनै झगडा नगरेको उनले सुनाए। भत्केका घरभित्र पस्न नसकेर धान, मकै, कोदो उम्रिएको अवस्थामा छिमेकीले निकालेको उनले बताए।
गाउँमा भवितव्य पर्दा मात्रै नभएर सामाजिक, सांस्कृतिक तथा विकास निर्माणमा पनि टापगाउँका बासिन्दा एकजुट हुँदै आएका छन्। ‘जनता नै एक भएर काम गर्नुपर्छ। हामी एक भयौं भने सबथोक गर्न सकिन्छ,’ घर बनाइरहेका बिर्तसिंह गुरुङले भने, ‘सरकारले विकास गरोस्, हाम्रो काम हामी आफैँ गर्छौं।’ सरकारी तथा गैरसरकारी संघसंस्थाले दिएको केही चामल र एउटा पाल पाएको बताउने बिर्तसिंहले भत्किएका घर उठाउन श्रमदान गरेर लागेमा सरकारलाई भार नपर्ने बताउँछन्। यस्तो काममा बालबालिकादेखि वृद्धवृद्धासम्म लागिपरेका छन्। उनले भने, ‘सरकारको भरोसा किन गर्ने? आपत्विपत्मा हामी सबैले सबैलाई हेर्नुपर्यो नि।’