सिन्धुपाल्चोकमा सिनो उठाउँदै विद्यार्थी
सिन्धुपाल्चोक, वैशाख २२
बिनाशकारी भूकम्पबाट ध्वस्त भएको सिन्धुपाल्चोक भोटेचौरमा क्याम्प नै खडा गरेर राजधानीका विद्यार्थीले पुरिएका सिनो उठाउन थालेका छन्। राजधानीमा विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको एउटा समूह त्यहाँ पुगेर निकै उदाहरणाीय काम थालेको छ। भूकम्पमा पुरिएका गाइबस्तु आठदस दिनसम्म नउठाउँदा गन्हाएर गाउँभरी संक्रमण फैलिने खतरा बढेपछि बाँच्नेहरुको जीवन बचाउन उनीहरु त्यहाँ पुगेका हुन्।
उनीहरुलाई कुनै पनि संघ संस्थाले सहयोग गरेको छैन। 'हामी आपसमा स्वयंसेवाको भावना लिएर त्यहाँ पुगेका हौं, अभियानका अगुवा विद्यार्थी नरेश रेग्मीले अन्नपूर्णसँग बताए। राजधानीबाट त्यहाँ पुगेका दुई दर्जन जति विद्यार्थीहरु क्याम्प नै खडा गरेर गाउँमा मरेका गाइवस्तुको सिनो धमाधम उठाइरहेका छन्। सरकारी निकाय वा अन्य संस्थाहरुको नाकमुख देख्न नपाएका स्थानीय विद्यार्थीहरुको यस्तो उदाहरणीय सक्रियता देखेर केही आशावादी भएका छन्।
रेग्मीका अनुसार ध्वस्त घरमा च्यापिएर जिवितै रहेका गाइवस्तुलाई निकाल्ने र मरेका गाईवस्तुलाई निकाले उचित ठाउँमा खाल्डो खनेर गाड्ने काम भइरहेको छ। नरेशसँगै उनका साथीहरु दिलिपसिंह ठकुरी,सरोज पौडेल,जीपी न्यौपाने,प्रदीप ठकुरी,प्रदीप पौडेल,मिलन राई,खोम भट्टराई,लाक्पा डोल्मा,पवन तिमिल्सिनालगायत यो अभियानमा सक्रिय छन्।
स्यवमसेवालाई प्रभावकारी बनाउन थप स्वयमसेवी आवश्यक भए पनि व्यवस्थापन गर्न गाह्रो भएको नरेशले बताए। उनले भने, ' बिनाशकारी भूकम्पले गराएको यो विपत्तीमा हामी सिन्धुपाल्चोकलाई साथ दिन यहाँ आएर सिनो उठाइरहेका हौ। तर, सिनो धेरै भएकोले उठाउन समस्या भइरहेको छ। हामीलाई थप स्वयसेवक चाहिको छ।'
