१३ जेठ, बुटवल । वडा प्रहरी कार्यालय बुटवलले इटाभट्टीस्थित बसपार्क पछाडिको धौलागिरी होटलमा यौन व्यवसाय गराउँदै आएको भन्दै सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले होटलमा छापा मारेको थियो । प्रहरीले होटल सञ्चालक इमबहादुर विक सहित ७ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी केदारनाथ पन्तले होटलको कोठाबाट एक जोडी सहित ७ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा सञ्चालक विक उनकी श्रीमती -नाम परिवर्तन) दुर्गा, केहीहरु (नाम परिर्वतन) बनिता श्रेष्ठ, सीता केसी, पुजा सापकोटा, हिराश्री थापा र गीता परियारलाई पक्राउ गरेको हो । होटलबाट प्रहरीले करिव तीन सय कण्डम समेत भेटिएको छ ।
विकलाई बारम्बार सम्झाउँदा पनि अनैतिक कार्य गराउन नछाडेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले विकले होटलको नाममा यौन धन्दा गराए पनि उनलाई होटल व्यवसायी संघले निष्काशन गरेको बताए ।
१२ जेठ, बन्सार (लमजुङ) । टापगाउँमा महाभूकम्पले भत्काएकामध्ये सोमबहादुर गुरुङको घर बन्दै छ। बन्सार ८ र ९ टापगाउँका घर बनाउन ८० घरका १/१ जना ३ समूहमा बाँडिएका छन्। गाउँका ४० घर पूर्ण र बाँकी सबैमा आंशिक क्षति पुगेपछि पुनर्निर्माण गर्न गाउँलेले ५/५ दिनको श्रमदान दिने निर्णयमा पुगेका हुन् । ‘यो काम आलोपालो गर्ने हो,’ घरको गाहारो लगाउँदै गरेका वडा ९ का संयोजक सुकबहादुर गुरुङले भने, ‘एउटाको नसकेसम्म त्यहाँ खट्छौँ। सकिएपछि अर्कोमा जान्छौं।’
अहिले तत्काल वर्षायामका लागि जोहो गरेको र हिउँद लागेपछि राम्रोसँग पुनर्निर्माण गरिने उनले बताए। ‘भत्किएको तला सक्नेको दुई तला नै बनाएका छौँ। नसक्नेको एकै तला जसरी पनि ठडयाएका हौं,’ उनले भने, ‘मेरो घर पुर्यो, मेरो घर गयो, मसँग पैसा छैन भन्ने स्थिति पछिसम्म नहोस् भन्ने उद्देश्यले गाउँ नै मिलेर घरघर बनाउन लागेका हौं।’ घर बनाएबापत दिनभरिको श्रम सित्तैमा भए पनि सल्लाहअनुसारै दिउँसोको खाजा र बेलुकीको खाना घरधनीले दिने गरेका छन्।
टापगाउँका बासिन्दाले सामूहिक रूपमा १५ घर बनाइसके। ‘आफ्नो घर बनाउन सरकारको मुख ताकेनांै। घर भत्केर बारीमा बसेका हामी आफ्नो घर आफैँ बनाउँछौं।’ माटो मुछ्दै गरेका दूधप्रसाद गुरुङले भने। उनका अनुसार एउटै घर बनाउने ३ भागमा बाँडिएर काम गरिरहेको छ। ‘पुरुष नसक्ने र नहुने घरका महिलालाई पानी भर्नेदेखि माटो सार्ने काममा लगाइन्छ,’ उनले भने, ‘त्यसपछि एउटा टोली पर्खाल हाल्ने र अर्कोले भत्किएको छानो सँगाल्ने गर्छन्।’ पाँचौं दिनको अन्तिममा पुगेर छानो राख्ने काम गरिएको उनले बताए।
स्थानीयले बढी भत्केको घरलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छन्। ‘१२ गतेको भूकम्पले एकसुर भत्कायो, २९ कोले पूरै ढलायो,’ दमबहादुर गुरुङले भने, ‘जसको एकमाना जोगिन नसक्ने गरी भत्किएको छ, जसलाई छिटो आवश्यक छ, उसको प्राथमिकतामा परिन्छ।’ अन्यत्र ठाउँमा पाल नपाएर, खाद्यान्न नपाएर झगडा गरेको सुनिए पनि आफूहरू घर बनाउन कुनै झगडा नगरेको उनले सुनाए। भत्केका घरभित्र पस्न नसकेर धान, मकै, कोदो उम्रिएको अवस्थामा छिमेकीले निकालेको उनले बताए।
गाउँमा भवितव्य पर्दा मात्रै नभएर सामाजिक, सांस्कृतिक तथा विकास निर्माणमा पनि टापगाउँका बासिन्दा एकजुट हुँदै आएका छन्। ‘जनता नै एक भएर काम गर्नुपर्छ। हामी एक भयौं भने सबथोक गर्न सकिन्छ,’ घर बनाइरहेका बिर्तसिंह गुरुङले भने, ‘सरकारले विकास गरोस्, हाम्रो काम हामी आफैँ गर्छौं।’ सरकारी तथा गैरसरकारी संघसंस्थाले दिएको केही चामल र एउटा पाल पाएको बताउने बिर्तसिंहले भत्किएका घर उठाउन श्रमदान गरेर लागेमा सरकारलाई भार नपर्ने बताउँछन्। यस्तो काममा बालबालिकादेखि वृद्धवृद्धासम्म लागिपरेका छन्। उनले भने, ‘सरकारको भरोसा किन गर्ने? आपत्विपत्मा हामी सबैले सबैलाई हेर्नुपर्यो नि।’
१२ जेठ, परासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बडेरामा सोमबार राति नौ बजे दुई ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय सुनवलका अनुसार पेप्सी बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १ क ३५३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७५५९ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाबाट पेप्सी बोकेको ट्रकका चालक र सहचालकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते भएका अर्का ट्रकमा सवार तीनजनाको लुम्बिनि अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।
त्यसैगरी राति नै सदरमुकाम परासीमा भएको मोटरसाईकल दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार परासीबाट सुनवलतर्फ जाँदै गरेको लु २१ प २२०२ नम्बरको मोटरसाईकल रामग्राम–३ को सुनवल–परासी सडकखण्डमा पल्टिन पुग्दा सो दुर्घटना भएको हो।
दुर्घटनामा पर्वत बाल्कोट घरभई सुनवल-३ बस्ने २६ वर्षिय चन्द्रबहादुर गुरुङ घाईते भएका छन्। उनको पनि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।
११ जेठ, काठमाडौ । 'घरमा अभिभावक डराउने, स्कुलमा शिक्षक डराउने, यस्तोमा जेठ १७ देखि स्कुल बोलाइएका विद्यार्थीलाई चाहिँ नडराईकन पढ भनेर कसले भन्न सक्छ', शिक्षा कार्यालय काभ्रेमा आइतबारको छलफलको विषयवस्तु नै यही बन्यो ।
वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको ठूलो पराकम्पनले अझैसम्म गाउँबस्तीमा त्रास घट्न सकेको छैन । शिक्षा कार्यालयमा दिनहुँजसो जेठ १७ देखि स्कुल सञ्चालन गर्ने सरकारी निर्णय कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल चलिरहन्छ ।
'जेठ १७ देखि नै पढाइ सुरु गरिहाल्न सकिन्न किनकि शिक्षकमा समेत त्रास कायमै छ । यसलाई पूर्ण रूपमा नहटाएसम्म पठनपाठन नियमित गर्न असम्भव छ,' सहायक जिल्ला शिक्षा अधिकारी दिनेश न्यौपानेले भने । सुरुका केही हप्तामा किताबी कुराभन्दा पनि त्रास भुलाउन बालगीत, लोकगीत, नाचगान, कथा, कविता, सरसफाइका तरिकाजस्ता क्रियाकलापमा जोड दिनुपर्ने उनको भनाइ छ ।
काभ्रेका अधिकांश शिक्षक स्थानीय नै रहेको र उनीहरू पनि भूकम्प प्रभावित रहेको नेपाल शिक्षक संघका अध्यक्ष अश्विन चौलागाईं बताउँछन् । '८० प्रतिशत शिक्षकका घर भत्किएका छन् । परिवारका कोही न कोही घाइते छन् । शिक्षकको आत्मबल नबढेसम्म शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बन्दैन,' चौलागाईंले थपे ।
पहिलो चरणमा शिक्षकको आत्मबल बढाउने, त्यसपछि अभिभावकसँगै विद्यार्थीलाई मनोविमर्शमार्फत भयमुक्त वातावरण बनाउनुपर्ने स्रोतव्यक्ति समाजका अध्यक्ष महेश्वर जंगमको भनाइ छ ।
'तत्काल वैशाख ११ अघिकै शिक्षण क्रियाकलाप सम्भव नभए पनि बालबालिकालाई विद्यार्थीलाई विद्यालय सञ्चालन भएको अनुभूति दिलाउने क्रियाकलाप भने अघि बढाउन सकिन्छ,' जंगमले भने ।
उता, कार्यालयका अनुसार शैक्षिक जनशक्ति विकास केन्द्रले समेत क्षेत्रगत तालिम आयोजना गर्दै शिक्षकलाई विद्यार्थीलाई परामर्श दिन सक्षम बनाउने योजना अघि सारेको छ । यस्तै, काभ्रेमा सिविसले समेत शिक्षकहरूलाई मनोसामाजिक परामर्श दिने योजना राखेको छ । 'यस्ता तालिमबाट शिक्षकको मनोबल बढेपछि उनीहरूले विद्यार्थीमा व्याप्त त्रास हटाउन सक्छन्', सहायक जिशिअ न्यौपानेले भने ।
वैशाख १२ को भूकम्प र शक्तिशाली पराकम्पनले जिल्लाका ५ सय ९० सामुदायिक विद्यालयमध्ये ९९ वटामा पूर्ण क्षति भएको जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्यांक छ । ती विद्यालयका १ हजार ५ सय ७१ कक्षाकोठा पूर्ण क्षति र १ हजार ९ सय २२ वटा कक्षाकोठामा सामान्य क्षति छ ।
यतिखेर शिक्षा विभाग र शिक्षा कार्यालयका अधिकृत तथा प्राविधिक सम्मिलित १० वटा टोली गाउँगाउँ खटिएका छन् । 'टोलीले विद्यालयको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरणसहितको प्रतिवेदन बनाउँछ जसले आगामी योजना बनाउन सजिलो हुन्छ', शिक्षाका कार्यक्रम अधिकृत बालकृष्ण सिंखडाले जानकारी दिए ।
तत्कालै कक्षा सञ्चालन गर्न समस्या भएका ९९ वटा स्कुलमा कम्तीमा १ सय २५ वटा अस्थायी सिकाइ केन्द्र (टिएलसी) बनाउनुपर्ने आवश्यकता रहेको जिल्ला शिक्षा समिति अध्यक्ष एवं स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाको भनाइ छ ।
निजी पनि तयार
काभ्रेका निजी स्कुल सञ्चालक पनि जेठ १७ गतेबाट कक्षा सञ्चालनको तयारीमा जुटेका छन् । पहिलो एक हप्ता पठनपाठनभन्दा पनि शिक्षक र विद्यार्थीमा रहेको त्रासलाई हटाउन विभिन्न क्रियाकलाप, तालिम तथा प्रशिक्षणको योजना बनाएका छन् ।
'लामो समयपछि विद्यार्थीलाई स्कुलसम्म आउने वातावरण तयार पार्नु नै मुख्य काम हो । उनीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन विभिन्न क्रियाकलाप आयोजना गर्छौं । यसमा नाचगान, खेलकुदलगायत कार्यलाई प्राथमिकता दिइनेछ । शिक्षकलाई समेत मनोविमर्शलगायतका तालिम दिन्छौं', प्याब्सन काभ्रेका पूर्वअध्यक्ष एवं विद्यासागर स्कूलका प्रिन्सिपल हिरा शर्मा नेपालले भने । ग्रामीण भेगका निजी स्कुलमा बढी क्षति भएकाले अस्थायी कक्षाका लागि टेन्ट र अन्य सामग्री सहयोग गर्न लागिएको पनि उनले जानकारी दिए ।
फोटोः जिल्लाकै पुरानो सञ्जीवनी उच्चमावि, धुलिखेलको साइन्स ब्लक, बाहिरबाट हेर्दा केही नदेखिए पनि भित्री भागमा जताततै चर्केको र भत्किएको छ ।
यस्तै, देवीटार गाविसको देवीस्थान निमाविको भवन बाहिर केही नभएको देखिए पनि भित्री भागमा जताततै चर्केको र भत्किएको छ ।
१० जेठ, बुटवल । बुटवल-बेलहिया ६ लेनको व्यापारिक सडक निर्माणमा अवरोध पुर्याएका राजमार्ग चौराहा क्षेत्रका १० घर डोजर प्रयोग गरी भत्काइएको छ ।
बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठदेखि माओवादी नेता प्रकाश श्रेष्ठ लगायतका घर भत्काइएको छ ।
बुटवलमा नाम चलेका व्यक्तिहरुले नै नियम मिचेर घर बनाएका थिए । घर भत्काउन स्थानीय प्रशासनले गरेको आग्रह उनीहरुले अटेर गर्दै आएका थिए ।
बुटवलको चौराहादेखि तिलोत्तमा नगरपालिकाको जानकीनगरसम्म ७२ घर सडकको मापदण्ड बिपरित रहेकाले ती सबै हटाइने सडक परियोजना संयोजक विरेन्द्र महासेठले बताए । ८२ फिट भित्र रहेका सबै घरहरु एक हप्ताभित्रै भत्काइने महासेठले बताए ।
व्यापारिक मार्गको बुटवल चौराहामा सडकको दायाँ र बायाँ रहेका सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रकाश श्रेष्ठ, मथुरा ध्वजु, जयबहादुर गुरुङ, कुलबहादुर श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, चमेलीदेवी श्रेष्ठ र अन्य २ जनाका घर छन् ।
डोजर चलिरहदा केहि घरधनीले हारगुहार गरेका थिए । उनीहरुलाई आफै घर भत्काउन ७ दिनको म्याद दिइएको छ । स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयसँग उनीहरुले आफै घर भत्काउने लिखित सहमति गरेका छन् ।
‘७ दिनमा हामी आफै हाम्रो घर तथा भवन भत्काउनेछौं, नभत्काए पुनः डोजर चलाउन अवरोध गर्ने छैनौं,’ सहमतिपत्रमा उल्लेख छ ।
१० जेठ, काठमाडौं । म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ । तर, यसले कुनै मानवीय तथा भौतिक क्षति भएन ।
सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालका अनुसार तालको पानी सकिएको छ र कालीगण्डकी नदी अब पुरानै बहाव आएको छ । ‘सानोतिनो पहिरो त झरिरहेको छ । तर, अब ताल सकियो’ चोखालले अनलाइनखबरसँग भने-‘ठूलो खतरा टरेको छ ।’
म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।
आइतबार ५ बजेतिर ओभर फ्लो भएर तालबाट पानी बग्न सुरु भएको थियो । तर, ओभर फ्लो भएपछि पानी बगेपछि ताल फुट्दा नदीमा ठूलो पानी आएको थियो । जसका कारण बेनी बजारसम्म नदीको छाल पुगेको थियो ।
झण्डै आधा घन्टा बाढी जस्तै भएर नदी ठूलो आएपछि क्रमिक रुपमा पानीको सतह घटेको छ । सहायक प्रजिअ चोखालले भने-सबै भन्दा नजिकको बस्ती भनेकै बेनी हो । यहाा पनि ठूलो भौतिक क्षति भएको छैन ।’
१० जेठ, काठमाडौं । म्याग्दीको राम्चे गाविस ९ बैसरीमा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ । नदी थुनिएपछि सदरमुकाम बेनीसहित नदीकिनार आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान र सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
बस्ती नै पुरियो
पहिरोका कारण भगवती गाविस २ को बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिए । मानवीय क्षति भए नभएको एकिन नभएको उनले बताए ।
काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ । सो क्षेत्र भूकम्पलगत्तै कमजोर भएको थियो ।
आइतबार विहान २ बजेतिर नदी थुनिएको अनुमान गरिएको छ । विहान ३ बजेतिर नदी थुनिएको जानकारी पाएका स्थानीयबासिन्दा आतंकित हुँदै सुरक्षित स्थानको खोजीमा लागेका छन् ।
घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् ।
सदरमुकाममा भागाभाग
जोखिमयुक्त बस्तीका बासिन्दा अग्लो स्थानतर्फ लागेका छन् । सदरमुकाम वेनीका अधिकांश बासिन्दाले घर छाडेका छन् । कालीगण्डकी नदी थुनिएको खबरपाएपछि सदरमुकाममा भागाभाग भएको थियो । सुरक्षाकर्मी, सन्चारकर्मीलगायतमात्रै सदरमुकाममा देखिन्छन् ।
आसपासका जिल्ला पनि जोखिममा
कालीगण्डकी नदी बेनीमा म्याग्दीखोलासँग जोडिएको छ भने दक्षिणतर्फ यो नदी चितवनको देवघाटमा नारायणी नदीसँग मिसिन्छ । एक्कासी बाँध फुटेमा म्याग्दी आसपासका जिल्लाका बासिन्दासमेत जोखिममा पर्ने अनुमान गरिएको छ । कालीगण्डकी थुनिएपछि
सिन्धुपाल्चोक जुरेको जस्तै स्थिति आउनसक्ने स्थानीयको अनुमान छ । सिन्धुपाल्चोकको राम्चेस्थित जुरेको पहिरोले धेरै हताहती भएको थियो ।
कालीगण्डकी थुनिएको र यसबाट निम्तिन सक्ने संकटबारे केन्द्रमा जानकारी गराइसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । नदी खुलाउने उपायबारे दैवी प्रकोप उद्धार समितिको बैठक समेत बसेर निर्णय लिइने उनले बताए । केन्द्रबाट हेलिकोप्टरमार्फत् घटनास्थलको निरीक्षणको तयारी भैरहेको छ ।
९ जेठ, काठमाडौं । एक्कासी शनिबार साँझ चलेको हावाहुरीले उपत्यकाको जनजीवन प्रभावित वनेको छ। हावाहुरीसँगै भएको वर्षातले काठमाडौं दिउँसै अध्याँरो भयो ।
बिनाशकारी भूकम्पपछि पालमुनी बसेका सर्वसाधरणलाई हावाहुरी अत्यायो । भूकम्पपछि टुँडीखेलमा पालभित्र बसेका सर्वसाधरणलाई पनि हावाहुरीले तर्सायो।
दर्जनौ पाल उडाएपछि सर्वसाधरणवीच भागदौड मच्चिएको थियो। प्रहरी र सर्वसाधरणले उडाएका पाल पुन मिलएका थिए।
हावाहुरी सँगै धुलाम्मे बनेको राजधानीका मुख्य सडकमा केहीबेर सवारीसाधन समेत रोकिएका थिए। महानगरीय प्रहरी कार्यलयका प्रवक्ता एसएसपी नारायण सिंह खड्काका अनुसार गौशाला ओरालोमा रूख ढलेर ट्याक्सीलाई किचेको छ ।
बा १ ज ६९१२ नम्बरको ट्याक्सीलाई रूखले किचेको थियो। रुख ट्याक्सीको पछाडिको भागमा ढलेकाले चालक बाँच्न सफल भएको जानकारी खड्काले दिए। सरकारी शिविरमा राखिएका केही स्थानका पालहरू हावाहुरीले च्यादिदिएको खड्काले बताए।
९ जेठ, काठमाडौ । भूकम्पबाट घर धराप परेका क्षेत्रमा सवारीसाधन चलाउन रोक लगाइएको छ । प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका २६ स्थानमा सवारीसाधन नचलाउनु भनेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कमा ५ र न्युरोडभित्र जनसेवा प्रहरी वृत्त आसपासका ५ फरक कुनामा सवारी निषेध गरेको हो । भित्री गल्लीहरूमा सवारी लैजान पनि रोक लगाइएको छ ।
पुरातात्त्विक महत्त्वका सार्वजनिक स्थलमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।
कमलपोखरीका ३ र कालिमाटीका भित्री गल्लीमा सवारी प्रवेश निषेध गरिएको छ । कीर्तिपुरमा पनि दुई स्थानमा सवारी चलाउन पाइँँदैन । स्वयम्भू, गट्ठाघर, ठमेल, एयरपोर्ट, सुकेधारा, महाराजगन्ज, मंगलबजार, कपन र थानकोटका विभिन्न विन्दुमा पनि सवारी रोकिएको छ ।
८ जेठ, धुलिखेल । चीन सरकारले भूकम्पबाट घाइते भएका नेपालीको तत्काल उपचार गर्न यहाँ सञ्चालनमा ल्याएको घुम्ती अस्पताल शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
चिनियाँ सहायक विदेशमन्त्री लियु जियानचाओको नेपाल भ्रमणको अवसर पारेर चीनले उक्त अस्पताल नेपाली सेनालाई हस्तान्तरण गरेको हो । अस्पतालसँगै नेपाली सेनाले शल्यक्रिया उपकरण, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला तथा इसिजीजस्ता उपकरण र औजार प्राप्त गरेको छ ।
सहायक विदेशमन्त्री लियु र नेपाली सेनाका बलाधिकृतरथी प्रदीपविक्रम राणाको उपस्थितिमा उक्त अस्पताल हस्तान्तरणसम्बन्धी कागजातमा हस्ताक्षर भएको थियो ।
नेपालमा गत वैशाख १२ गते भूकम्प भएपछि चिनियाँ उपचार टोली वैशाख १४ गते यहाँ आइपुगेको थियो । धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ चिकित्सक टोलीले खासगरी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलाखाका बिरामीलाई सेवा पुर्याएको थियो । चिनियाँ टोलीले त्यस क्षेत्रमा बिरामीको उपचारका साथै पानीको मुहान सरसफाइ र पानी प्रशोधन गरेर स्थानीयवासीको मन जित्ने प्रयास गरेका थिए ।
त्यस क्रममा भूकम्पमा परेर घाइते भएका ३०१ बिरामीलाई चिनियाँ घुम्ती अस्पतालमा भर्ना गरेरै उपचार गरिएको चिनियाँ चिकित्सक टोलीका संयोजक लियु केजिङले बताए । सो टोलीमा विशेषज्ञसहित ६० जना सहभागी थिए ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाका उपरथी डा. किशोरजङ्ग राणाले भूकम्पमा प्रभावित क्षेत्रमध्ये पूर्वी क्षेत्रका बिरामीको उपचारमा चिनियाँ उपचार टोलीलाई खटाइएकामा धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ टोलीले उत्कृष्ट ढङ्गबाट उपचार सेवा प्रदान गरेको भनी सराहना गरे ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले भूकम्पमा परी घाइते नेपाली नागरिकलाई उपचारमा सहयोग पु¥याउन खटिएको चिनियाँ टोलीले प्रभावकारी रुपमा कार्यसम्पादन गरेको बताए । रासस
७ जेठ, डाँडापारी, बुढाखानी (काभ्रे) । राहत बाँडिँदै छ भन्ने सुनेपछि बनखुचौर ७ का ७३ वर्षीय जोगमान लामा लौरो टेक्दै ७ घण्टा हिँडेर बुढाखानीको सार्दडाँडा पुगे। मंगलबार बिहान ४ बजे नै उठेर हिँडेका उनी ११ बजे पुगेका थिए। तर, राहत लिएर सेभ द चिल्ड्रेन र नाङ्साल एसोसिएसनको टोली साँझ ६ बजे मात्रै उक्त स्थानमा पुग्यो। राहत झारेर बाँड्दा ७ बज्यो। साढे ७ बजे हातमा त्रिपाल, कम्बल, झुल, ग्यालेनलगायतका सामग्री परे लगत्तै उनी फेरि घर जान नै हतारिए। ‘बीचमा बस्ने ठाउँ छैन, जंगलको बाटो हिंड्दै आजै गाउँ पुग्नुपर्छ,’ उनले भने, ‘गाडीको असुविधा हुँदा राहत लिन पनि यत्रो दु:ख पाउनुपर्यो।’ जोगमान घरमा नै कन्दमुल र खोले खाएर बसेका थिए। ‘टाउको अड्याउने त्रिपाल थिएन,’ उनले भने, ‘यो सहयोग पनि हाम्रा लागि ठूलो कुरा हो।’
६ घण्टा हिंडेर ७ घण्टा राहत कुरेका ६१ वर्षीय कमल नेपालीको पीडा पनि दयनीय छ। ७ घण्टा राहत पर्खेर बस्दा उनले कसैले दयाले दिएको १ मुठी चिउरा त पाए तर पानी नपाउँदा ठूलो सास्ती भोगे। ‘राहत पाइन्छ भनेर सखारै ६ घण्टाको बाटो हिंडेर आएँ,’ उनले भने, ‘दिनभरि भोको पेटमा बस्नुपर्यो, राहत पाएपछि भने खुसी नै लाग्यो।’ राहत लिन वृद्ध, महिला, बालबालिका आइपुगेका थिए। बिहान सबेरै आएका उनीहरूले राति अबेरसम्म (११ बजे) सम्म बसेर राहत कुरेर लिएर गए। राहत लिन बनखु गाविसका ७ सय ५४ घरधुरी छिमेकी गाविसमा जम्मा भएका थिए। यातायातको सुविधा नभएका कारण सहयोगी संस्थाले सोही ठाउँसम्म मात्रै राहत लिएर गाउँलेलाई डाकेका थिए। विभिन्न ८ स्थानबाट बाटो लाने प्रयास गरिए पनि उक्त क्षेत्र अझै सडक सञ्जालमा जोडिन सकेको छैन। यहाँका अधिकाशंलाई ६ महिनाभन्दा खान पुग्दैन। बाँकी समय बनेपा, धुलिखेल, पनौती लगायतका क्षेत्रमा मजदुरीका लागि जाने गरेका छन्।
गाविस सचिव रेवतीरमण ज्ञवालीका अनुसार वनखुका ७ सय ५४ घरमा क्षति भएका छन्। भोगोलिक रूपमा विकट ती क्षेत्रमा सरकारी राहतसमेत निकै न्यून पुगेको छ। जिल्लाको तथ्यांकअनुसार उक्त गाविसमा ६ हजार केजी चामल, ९० किलो चिउरा, १ सय कम्बल, १० कार्टुन चिउरा र १० कार्टुन बिस्कुट मात्रै पुगेको छ। सेभ द चिल्ड्रेन र नाङ्सालले उक्त गाविसका सबै घरधुरीलाई कम्बल, त्रिपाल, झुल, ग्यालेनलगायत सामग्री वितरण गरेको थियो।
७ जेठ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ की १३ वर्षीया बालीका बलात्कृत भएकी छन् । स्थानीय २४ वर्षीय राहुल तेलीले बालीकालाई बलात्कार गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेशकुमार पोखरेलले जानकारी दिए ।
विहीबार मध्यान्ह करिब १२ बजेति शौच गर्न खुल्ला स्थानमा गइरहेकाबेला तेलीले गाउँ नजिकैको पुगता भुमी जेतवन बौद्ध बिहारमा लगेर
बालीकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गर्ने तेली फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।
६ जेठ, बेसीशहर । लमजुङमा एक पाँच बर्षीया बालिका बलात्कृत भएकी छन् । सुन्दरबजार नगरपालिकाको एक गाउँकी ५ वर्षीया बालिकालाई गाउँकै दाजु पर्ने १८ वर्षीय बिमलराज अधिकारीले बलात्कार गरेको रहस्य खुलेको हो ।
बालिकाको घरमा कोही नभएको मौकामा उनलाई गत बैशाख २७ गते साँझ आफ्नो घरैमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना भएको तीन दिनपछि थाहा पाएका परिवारले प्रहरीमा निबेदन दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
बलात्कारका आरोपित कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । घटनापछि बालिका बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेको तीनदिनपछि परिवारले थाहा पाएका थिए ।
मंगलबारमात्रै प्रहरीमा खबर आएपछि सत्यतथ्य बुझेर आरोपितलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । अस्पतालमा स्वास्थ्य परीक्षण गराउ“दा बालिकामाथि करणी भएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा अधिकारीले बालिकालाई बलात्कार गरेको स्वीकारेका प्रहरीले जनाएको छ । उनीविरुद्ध बुधबार अनुसन्धानका लागि अदालतबाट एक साताको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीले बताए ।a
६ जेठ, दमौली । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण मंगलबार रातिभर सडक अवरुद्ध भएको छ। पहिरोको केही भाग हटाएर बिहान ३ बजेबाट सडकलाई एकातर्फी रुपमा खुलाइए पनि यातयात अझै सहज हुन सकेको छैन ।
मंगलबार साँझ मस्र्याङदी जलविद्युत गृह नजिकै गएको पहिरोले सडक पुरिएपछि राति एघार बजेदेखि नै दुवैतर्फको यातयात ठप्प भएको थियो। ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका थिए। गाडी नचलेपछि यात्रुहरुले राती सडकमै विताएका थिए। प्रहरी तथा सडक विभागको टोलीले पहिरोमा पुरिएका शव र पहिरोको केही भाग हटाएपछि बिहानदेखि यातयात चलाइएको जानकारी प्रहरले दिएको छ ।
राजमार्ग माथिबाट खसेको पहिरोमा ना १८ प २९५५नम्बरको मोटरसाइकलमा सवार स्थानीय १५ वर्षका गणेश थापा र भक्तबहादुर थापा पुरिएका थिए। उनीहरुको शव बिहानपख मात्र निकालिएको थियो ।
यसैगरी चट्याङमा परी तनहुँमा तीनजनाको मृत्यु भएको छ । चट्ङयाङमा परी घरमै सुतिरहेका कोटदरबार ६ ढापस्वाँरा निवासी ३७ वर्षका हस्तबहादुर थापा र उनकी भाउजु ४१ वर्षिया झरिमाया थापाको मृत्यु भएको हो ।बन्दीपुरका मिनबहादुर गुरुङको पनि चट्ङयाङमा परी मृत्यु भएको छ ।
५ जेठ, काठमाडौं । भूकम्पका कारण टेन्टमा बस्दै आएकी एक बालिका बलात्कृत भएकी छिन् । खुसिबु टाउन प्लानिङमा सोमबार बिहान ती बालिका बलात्कृत भएकी हुन् । बलात्कारका आरोपी २२ वर्षीया राकेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बालिकाकी आमा खाना बनाउन लागेको र बाबु बाहिर निस्केको वेला उनले बलात्कार गरेका थिए । छिमेकीले उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए । महर्जनमाथि कानुनी कारबाही अघि बढाइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले बताए ।
भूकम्पका कारण सर्वसाधारण टेन्टमा बसेको वेला यौनसम्बन्धी तथा चोरीका घटना बढेका छन् । सर्वसाधारण त्रिपाल तथा टेन्ट टाँगेर बसेको स्थानमा प्रहरीले रातभरि गस्ती गर्दै आएको एसपी पोखरेलले बताए । त्यस्तै, चोरी नियन्त्रण गर्न पनि प्रहरीले विभिन्न टोली खटाएको छ ।
५ जेठ, काठमाडौं । विनाशकारी भूकम्पमा परी मृत्यु भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले ३ लाख नगद राहत दिने भएको छ । प्रहरी प्रधान कार्यालयले भूकम्पमा मानवीय तथा भौतिक क्षति पुगेका पीडित वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीलाई दिने राहतको प्याकेज घोषणा गरेको छ ।
भूकम्पमा ज्यान गुमाएका प्रहरीको आश्रति परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट नगद ३ लाख रुपैयाँ राहत प्रदान गरिने प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमले जानकारी दिए ।
वहालवाला प्रहरी कर्मचारीका परिवार (श्रीमान्, श्रीमती, बाबु, आमा, छोरा, छोरी) को मृत्यु भएकोमा काजक्रिया खर्चबापत २५ हजार र सेवानिबृत्त प्रहरी कर्मचारीको मृत्यु भएकोमा आश्रति परिवारलाई नगद १ लाख रुपैयाँ राहत सहयोग दिइनेछ ।
भूकम्पबाट घर ध्वस्त भएका प्रहरी कर्मचारीलाई १५ हजार दिइने भएको छ भने २ वर्षभित्र किस्तावन्दीमा तलवबाट रकम कट्टा गरी बुझाउने गरी १ लाख रुपैयाँसम्म निब्र्याजी तलव सापटी दिने प्रहरीले बताएको छ ।
आंशिक रुपमा घर क्षति भएकालाई २ बर्षभित्रमा तलवबाट कट्टा गरी बुझाउने ५० हजारसम्मको निर्ब्याजी तलव सापटी दिने भएको छ ।
भूकम्पबाट मानवीय तथा भौतिक भोगेका प्रहरीलाई घरपायक स्थानमा ६ महिना सरुवा वा काज खटाउने व्यबस्था मिलाइने छ । श्रीमान श्रीमती दुबैजना प्रहरी कर्मचारी भए दुबैजनालाई घरपायक स्थानमा काजमा खटाइने व्यवस्था गरिने प्रवक्ता बलमे जनाएका छन् ।
भूकम्पको कारणबाट अभिभावक गुमाउने वा असक्त भएका वहालवाला र सेवानिवृत्त प्रहरीका छोराछोरीलाई उच्च माविसम्म अध्ययनको लागि ‘भूकम्प पीडित प्रहरी छात्रवृत्ति कोष स्थापना’ गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रहरीले जनाएको छ ।
४ जेठ, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उक्त मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पको पीडाबाट पिरोलिएका सर्वसाधारणलाई थप पीडा हुने किसिमका अनर्गल समाचार प्रकाशन प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
साथै उक्त मन्त्रालयले जनजीवनलाई आतङ्कित पार्ने त्यस्ता सामग्री प्रकाशन एवम् प्रसारण गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ । रासस
५ जेठ, नेपालगन्ज । भारतबाट घर फकिर्दै गरेका नेपाली कामदारलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने २ जना लुटेरालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
भारतका विभिन्न शहरमा काम गरेर काम गरेर फर्कदै गरेका कामदारहरूलाई आफूहरु पनि नेपाली भएको भन्दै चिनजान गरी नशालु पदार्थ मिसाएको चिया, बिस्कुट र फलफूल खुवाएर उनीहरूसँग भएको नगद, गहना लगायतका सामाग्री लुटपाट गर्ने कालिकोट घर भई नेपालगन्जमा बस्दै आएका बसन्त बुढा र गोबिन्द बुढालाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्तहरुले एक वर्षको अवधिमा २९ पटक नेपाली कामदारहरुलाई नशालु पदार्थ खुबाई करिब ७ लाख १५ हजार लुटपाट गरेको बाँके प्रहरीले जनाएको छ।
२०७१ साउनदेखि हालसम्म भारतबाट नेपाल फर्कदै गरेका २९ नेपाली कामदार भारतीय सीमावर्ती क्षेत्रमा लुटिएका थिए।
पक्राउ परेका लुटेरालाई बाँके प्रहरीले पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो। अभियुक्तमाथि लुटपाट, लागूऔषध सेवन, अपहरण लगायतका मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले बताए।
भारतबाट दैनिक करिब ४ सय नेपाली कामदार घर फर्केने गरेका छन्।
चाड पर्वको बेला दैनिक २ हजारसम्म नेपाली घर फर्केने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
४ जेठ, वीरगन्ज । 'यसपालि विवाह गर्छु। तपाइँ विवाहको तयारी गर्नुस्, म कार्यालयको काम सिध्याएर वैशाख २० गते घर आइपुग्छु भनेर छोरा काठमाडौंतिर लागे, म छोराको विवाहको तयारीमा जुटें, हेटौंडा नगरपालिका—१० की विमला लामा भक्कानिदै भनिन्—‘अहिले घरमा छोराको शव आयो । अब म कसरी बसुँ ।'
विमलाको छोरा सुमन भोम्जनको विनाशकारी भूकम्पमा परी ज्यान गएको थियो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभासद् तथा खेल पत्रकार सुमनको काठमाडौंको महाबौद्धमा डेरा गरी बसेको घरसँगै उनी पनि ढलेका थिए।
भूकम्प आए लगत्तै सम्पर्कविहीन भोम्जनको निरन्तर खोजिपछि उनकै डेरा महाबौद्धमा पुरिएको अवस्थामा सात दिनपछि शव फेला परेको हो । घरमा २९ वर्षीय छोराको शव आएपछि आमा सम्हालिन त्यति सजिलो छैन। छोराको तस्बिर छातिमा राखेर उनी सधैँ डाँको छाडेर रोइरहिन्छन्। उनलाई सम्हाल्न छरछिमेककी महिला र केही पत्रकार पनि आइरहन्छन् तर उनी दिनरात रोएरै बिताउँछिन् ।
चार वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत सुमन मेहनती मात्र थिएन्, मूल्यनिष्ट र व्यावसायिक पत्रकारिताको विकासका लागि जहिले पनि वकालत गर्न पछाडि पर्दैनथे । उनको मृत्युसँगै सिङ्गो पत्रकारिता अहिले शोक डुबेको छ।
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले शनिबार पत्रकार सुमनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आयोजना गरेको शोकसभामा उनका बुबा सुरेन्द्रको आँखामा आँशुको भेल हेर्दा त्यहा“ उपस्थित सबै पत्रकारको आँखा रसाएका थिए ।
“कामको सिलसिलामा काठमाडौं गएको छोरा विवाहका लागि वैशाखमा त फर्केला भन्ने थियो, तर शव आयो,” उनले भने—“दैवी प्रकोपलाई कसले रोक्न सक्छ र भन्दै चित्त बुझाउने प्रयास गर्दैछु ।”
पत्रकारिता गर्दागर्दै विनाशकारी भूकम्पमा परेर काठमाडौं मा छोराको ज्यान गयो, यता हेटौंडा नगरपालिका—१० मा आफू बसेको घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेको छ, बबा सुरेन्द्र भोम्जनले भने—‘‘यस्तो विपद्का समयमा सरकारबाट उचित राहत र सहयोगको अपेक्षा गरेको छु ।’उनले आवश्यक राहत र सहयोगका लागि पहल गरिदिन पत्रकारलाई आग्रह समेत गरेका छन्। रासस