dailyvideo

चेल्सी प्रिमियर लिग च्याम्पियन

लन्डन (एएफपी), वैशाख २१
चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । चेल्सीले आइतबार क्रिस्टल प्यालेसलाई १–०ले पराजित गरेपछि ३ खेल अगावै च्याम्पियन बनेको हो ।

चेल्सीले दोस्रो स्थानमा रहेको एवं डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई १५ अंकले पछाडि पार्‍यो । सिटीभन्दा तेस्रो स्थानको आर्सनल १ अंकले मात्र पछाडि छ र टोलीले अन्यले भन्दा २ खेल कम खेलेको छ । स्टामफोर्ड ब्रिजमा इडेन हाजार्डले पहिलो हाफमा गरेको गोल चेल्सीलाई विजय बनाउन पर्याप्त बन्यो । चेल्सीले ५ वर्षपछि पहिलो लिग उपाधि जितेको हो ।

आइतबारको खेल अगाडि चेल्सीलाई उपाधि जित्न ३ अंकको आवश्यकता थियो । चेल्सी व्यवस्थापकका रूपमा जोसे माउरिन्होको यो तेस्रो उपाधि हो । चेल्सीको व्यवस्थापक बनेर दोस्रो कार्यकालमा माउरिन्होले लन्डन टोलीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका हुन् । यसअघि शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ब्रुमको हातबाट घरमा १–० ले पराजित रह्यो । जितले वेस्ट ब्रुम रेलिगेसनबाट बच्ने सम्भावना लगभग तय भएको छ । उसको ४० अंक भएको छ र १३ औं स्थानमा रहेको छ । त्यसमा क्रिस ब्रुन्टको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । म्यानचेस्टरको भने यो लगातार तेस्रो हार हो ।

लुइस भान गालको म्यानचेस्टरका लागि रोबिन भान पर्सी पेनाल्टीमा गोल गर्न चुके । ओल्ड ट्रायफोर्डमा म्यानचेस्टरको यो लगातार दोस्रो हार हो । म्यानचेस्टर ६५ अंकमा चौथो स्थानमा छ र अब उसमाथि त्यो स्थान जोगाउन कठिन हुन सक्नेछ । उसलाई दबाब दिइरहेको लिभरपुल भने क्यूपीआरमाथि २–१ ले विजयी रहे । कप्तान स्टेफन जेरार्डले त्यसमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

लिभरपुलको ६१ अंक छ । शनिबारका अन्य खेलमा एस्टन भिल्लाले एभरटनलाई ३–२, सन्डरल्यान्डले साउथह्याम्पटनलाई २–१, स्वान्सीले स्टोक सिटीलाई २–० र वेस्ट ह्यामले बर्नलीलाई १–० ले हरायो । सन्डरल्यान्ड ३३ अंकमा पुछारबाट तेस्रोमा छ । उसको पछाडि क्यूपीआर २७ र बर्नली २६ अंकमा रेलिगेसन क्षेत्रमा रहेका छन् ।




इटाली

मिलान– युभेन्ट्सले शनिबार राति लगातार चौथो पल्ट इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । उसले साम्पाडोरियामाथि आरटुरो भिडालको विवादास्पद हेड गोलमा १–० को जित निकाल्न सफल रहेपछि टुरिन क्लब लिग उपाधि जित्न सफल रहेको हो । कीर्तिमाने ३१ औं पल्ट लिग उपाधि जित्न युभेन्ट्सलाई साम्पडोरियाविरुद्धको खेलमा एक अंक मात्र आवश्यक थियो ।

व्यवस्थापकका रूपमा मासिमिलिनो एलेग्रीले क्लब सम्हालेको पहिलो सिजन नै युभेन्ट्स लिग उपाधि रक्षा गर्न सफल रहेको हो । लिगमा चार चरणको खेल बाँकी छँदै युभेन्ट्सले उपाधि कब्जा गरेको हो । युभेन्ट्ससामु यस सिजन लिगसँगै तीन उपाधि जित्ने अवसर रहेको छ । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको युभेन्ट्सले इटालीकपको फाइनल पनि खेल्नेछ ।

स्पेन

म्याड्रिड– लुइस स्वारेजको ह्याट्रिकमा बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा कारडोबालाई ८–० ले हरायो र लिग उपाधि जित्ने सम्भावनालाई गाढा पार्न सफल रह्यो । लुइस इनरिकेको बार्सिलोनाका लागि लियोनल मेसीले दुई गोल गरे । यस्तै इान राकिटिच, जेरार्ड पिके र नेयमारले एक/एक गोल गरे । मेसीले यो सिजन आफ्नो व्यक्तिगत गोल संख्यालाई ५१ पुर्‍याएका छन् ।

शीर्ष स्थानमा रहेको बार्सिलोनालाई दोस्रोमा रहेको रियल म्याड्रिडमाथि दुई अंकको अग्रता प्राप्त छ । तीन चरणका खेल बाँकी रहेको स्थितिमा बार्सिलोनाको ८७ अंक रहेको छ । रियल भने समान खेलबाट ८५ अंकमा रहेको छ । क्याटलान क्लब सबै प्रतियोगिताका पछिल्ला १६ खेलमध्ये सबैमा अपराजित रहेको छ र त्यसमध्ये १५ खेलमा विजयी रहेको छ ।

रियलले शनिबारकै अर्को खेलमा सेभियामाथि ३–२ को कठिन जित निकाल्न सफल रह्यो । त्यस जितमा रियलका लागि पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । सन् २०१४ को मार्चयता सेभिया आफ्नो घरमा पराजित रहेको यो पहिलो पल्ट हो । त्यसबीच सेभिया ३५ खेलमा अपराजित रह्यो । उसका लागि यसपल्ट कार्लोस बाका र भिन्सेन्ट इबारोले गोल गरे ।

Posted by ADVENT on 2:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for चेल्सी प्रिमियर लिग च्याम्पियन

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery