dailyvideo

विदेशी राहतमा रोटीदेखि थोत्रा कपडासम्म

waste cloths


५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पकाइएका पराठादेखि प्रयोग गरिसकेका पुराना कपडास मको चाङ थुप्रिएको छ। विदेशमा सहायता संकलन गर्ने संस्थाहरू तथा दाताहरूलाई नेपालको आवश्यकता के हो भन्ने बुझाउन नसक्दा अनावश्यक र अखाद्य वस्तु आएका हुन्। कतिपय राहतका बाकसमा त च्यातिएका कपडा र धेरै पुराना जुत्तासमेत फेला परेका छन्।


दुई सय ४२ कार्टुन मासुसहितको खाद्यसामग्री थन्किएको पनि दुई साता पुग्न लाग्यो। भूकम्पको क्षतिपछि राहतका नाममा इन्डोनेसियाबाट मटन भनेर आएको उक्त सामग्रीको बाहिरी भागमा देखिएको फोटो र त्यहाँको भाषा बुझ्न नसक्दा लामो समय थन्किएको हो।


भेडाको फोटो हो कि गाईको आकृति छुट्याउन नसक्दा परेको अप्ठेरो त्यो देशको भाषा बुझ्ने व्यक्तिमार्फत फुकाउनु परेको थियो। ४४ हजार डलर झन्डै (४४ लाख रुपैयाँ)को उक्त सामग्री इन्डोनेसिया सरकारले नेपाल सरकारलाई राहतस्वरूप पठाएको हो।


भारतको गोकुल ब्रिज फाउन्डेसनले दिल्लीबाट जनकल्याण प्रतिष्ठान कालिकास्थानलाई पठाएको तयारी खानेकुरा आलु पराठा काठमाडौं आइपुग्दा अखाद्य बनिसकेको थियो।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट विमानस्थलमा चेकजाँचका लागि खटिएका खाद्य अनुसन्धान अधिकृत दिग्विजय मिश्रका अनुसार, वैशाख २३ गते ठूलो परिमाणमा आएका तयारी खानेकुरा अखाद्य पाइएपछि तिनलाई नष्ट गरिएको थियो।


बच्चाका लागि आएका पाँच कार्टुन जति पाउडर दूध पनि मिति सकिएको पाइएपछि त्यसलाई वितरण अयोग्य भन्दै थन्क्याइएको छ। भारतको कोचिनबाट सामाजिक काम भन्दै पठाइएको कपडाका पोकाहरूमध्ये धेरैमा थोत्रा कपडामात्र पाइएको छ।


खाडी मुलुकबाट विभिन्न संस्थाहरूले संकलन गरेर पठाएको राहत सामग्रीमा पनि धेरै पुराना कपडा र जुत्ता फेला परेपछि तिनलाई भन्सारभित्रको एउटा कुनामा फ्यालिएको छ। यस्ता सामग्री झन्डै सात सय पोकास म भएको भन्सार विभागले जनाएको छ।


बेलायतबाट केही व्यक्तिहरूले संकलन गरेर पठाएको २० केजी पाउरोटी र ३० केजी टोस्ट पनि खानयोग्य पाइएन भने भारतको बैंगलोरस्थित बैंकटेश्वर कलेज अफ इन्जिनियरिङमा पढ्ने नेपाली विद्यार्थीको संयोजनमा ४० बाकस पाउरोटी पनि यहाँ आइपुग्दा गन्हाइसकेको थियो।


विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल भन्छन्,'जनस्वास्थ्यमा असर पर्ने प्रयोग भइसकेका लुगा र अखाद्य भइसकेको खानेकुरा भन्सारले नियन्त्रणमा लिएर नष्ट गरेको र गर्ने प्रक्रियामा राखेको छ।


बेलायतबाट लाहुरे समुदायले संकलन गरेर द बेस्ट आर्चरी भन्ने संस्थालाई पठाएको राहत सामग्रीमध्ये २५ बट्टा प्रशोधित तरकारी पनि मिति सकिएको पाइएपछि विमानस्थलबाट बाहिर लैजान नदिइएको अधिकृत मिश्रले बताए।


भूकम्पपीडितलाई राहतका नाममा भारत, श्रीलंका, भुटानलगायतका देशबाट पिउनेपानीका बोतल र जार आएका छन्। 'हामीलाई पानी किन चाहिएको थियो र? भन्सारका एक अधिकारीले भने,'हामीलाई आवश्यक के हो भन्दा पनि उनीहरूले जे मन लागे, त्यही पठाइदिए।'


पाल, त्रिपाल, खाद्यान्न सामग्री, औषधिलगायतका सामान प्रभावित जिल्लामा तत्काल पठाउने गरिएको र त्यस्ता सामग्री केही थानमात्र भन्सारमा थुप्रिएका छन्। विभिन्न ३९ देशबाट राहत सामग्री आएको भन्सारका कर्मचारीहरू बताउँछन्।


सभामुख सुवास नेम्बाङ सभापति रहेको संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले विदेशबाट आएको राहत सामग्री, त्यसको वितरण प्रणाली, एयरपोर्टको व्यवस्थापन र नेपाली सेनाको कामबारे आइतबार स्थलगत अध्ययन गरेको थियो।


'राहत सामग्री व्यवस्थापनमा तपाईंहरूले के समस्या महसुस गर्नुभएको छ?' भन्ने सभामुख नेम्बाङको प्रश्नको जवाफ दिँदै प्रमुख भन्सार प्रशासक बरालले भनेका थिए,'विमानमा के सामान आउँछ भनेर विदेशीले लेखेर दिँदैनन्, एउटा जहाजमा राहत सामग्री भनेर आयो, पछि त पानी नै पानी रहेछ।'


'यति सामग्री हाम्रो दूतावासलाई, यति हाम्रो टिम र यति सामान फलानो एनजीओ/आईएनजीओलाई भनेर पठाउने गरिन्छ-, गृह मन्त्रालयका सहसचिव सागरमणि पराजुलीले भने,'व्यक्तिगत रूपमा आएको सामग्री हामी जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गर्न भनेर पठाइदिन्छौं।'

Posted by ADVENT on 12:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for विदेशी राहतमा रोटीदेखि थोत्रा कपडासम्म

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery