भुकम्प पीडितलाई राहतको नाममा तस्करी
भैरहवा, बैशाख २०
सीमा क्षेत्रमा भुकम्प पिडीतलाई राहत दिने नाममा तस्करहरु सक्रिय बनेको खुलासा भएको छ । तस्करहरुले पीडितहरुलाई राहत दिने बहानामा भारतीय बजारबाट ठूलो परिमाणमा सामान भित्र्याएर नेपाली सीमा बजार भैरहवामा थुपारिएको अवस्थामा प्रहरीले सामान बरामद गरेपछि यस्तो खुलासा भएको हो ।
प्रहरीले आज मध्यान्न राहतको नाममा सामान ल्याएर गोदाममा थन्क्याउनै लागेको अवस्थामा दुई व्यापारीसहित सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार राहत भन्दै युपी ६३ जे ९१०० नम्बरको ट्रकमा रहेको चना ५० क्विन्टल , विस्कुट १ सय कार्टुन, चियापत्ती ३ क्विन्टल, फ्रुटी ५०कार्टुन, कम्मल १०० थानलगायत नियन्त्रणमा लिएको हो ।
सो सामान प्रहरी निरीक्षक बिर बहादुर पुलामी नेतृृत्वको टोली स्थानीय सीमा बजारबाट नियन्त्रणमा लिएको हो । पक्राउपरेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।