dailyvideo

पहिरोले कालीगण्डकी नदी थुनियो, बेनीसहित दर्जनौं बस्ती जोखिममा

१० जेठ, काठमाडौं । म्याग्दीको राम्चे गाविस ९ बैसरीमा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ । नदी थुनिएपछि सदरमुकाम बेनीसहित नदीकिनार आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान र सतर्क रहन सबैलाई आग्रह गरेको छ ।



बस्ती नै पुरियो



पहिरोका कारण भगवती गाविस २ को बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिए । मानवीय क्षति भए नभएको एकिन नभएको उनले बताए ।



काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ । सो क्षेत्र भूकम्पलगत्तै कमजोर भएको थियो ।
आइतबार विहान २ बजेतिर नदी थुनिएको अनुमान गरिएको छ । विहान ३ बजेतिर नदी थुनिएको जानकारी पाएका स्थानीयबासिन्दा आतंकित हुँदै सुरक्षित स्थानको खोजीमा लागेका छन् ।



घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् ।



सदरमुकाममा भागाभाग



जोखिमयुक्त बस्तीका बासिन्दा अग्लो स्थानतर्फ लागेका छन् । सदरमुकाम वेनीका अधिकांश बासिन्दाले घर छाडेका छन् । कालीगण्डकी नदी थुनिएको खबरपाएपछि सदरमुकाममा भागाभाग भएको थियो । सुरक्षाकर्मी, सन्चारकर्मीलगायतमात्रै सदरमुकाममा देखिन्छन् ।



आसपासका जिल्ला पनि जोखिममा



कालीगण्डकी नदी बेनीमा म्याग्दीखोलासँग जोडिएको छ भने दक्षिणतर्फ यो नदी चितवनको देवघाटमा नारायणी नदीसँग मिसिन्छ । एक्कासी बाँध फुटेमा म्याग्दी आसपासका जिल्लाका बासिन्दासमेत जोखिममा पर्ने अनुमान गरिएको छ । कालीगण्डकी थुनिएपछि



सिन्धुपाल्चोक जुरेको जस्तै स्थिति आउनसक्ने स्थानीयको अनुमान छ । सिन्धुपाल्चोकको राम्चेस्थित जुरेको पहिरोले धेरै हताहती भएको थियो ।



कालीगण्डकी थुनिएको र यसबाट निम्तिन सक्ने संकटबारे केन्द्रमा जानकारी गराइसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । नदी खुलाउने उपायबारे दैवी प्रकोप उद्धार समितिको बैठक समेत बसेर निर्णय लिइने उनले बताए । केन्द्रबाट हेलिकोप्टरमार्फत् घटनास्थलको निरीक्षणको तयारी भैरहेको छ ।

Posted by ADVENT on 6:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पहिरोले कालीगण्डकी नदी थुनियो, बेनीसहित दर्जनौं बस्ती जोखिममा

Leave comment

Recent Entries

Recent Comments

Photo Gallery