बारपाकबासीको माग : हामीलाई पुरानै घर चाहियो
आँगनमै लास गाडेर गाउँ छाड्न बाध्य
५ जेठ, बारपाक, गोरखा । महाभूकम्पको केन्द्रविन्दु बारपाकबासीलाई अहिले राहतको भन्दा पनि पुनः निर्माणको चिन्ताले सताएको छ । चिटिक्क परेको बारपाक गाउँँ यतिबेला खण्डहर बनेको छ । १४ सय बढी घरधुरी रहेको बारपाकमा कुनै पनि घर बस्न लायक छैनन् ।
बारपाकबासीलाई अहिले दैनिकी चलाउने भन्दा पनि आफ्नो गाउँको अस्तित्व मेटिने हो कि भन्ने चिन्ता छ । विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाले भूकम्प प्रतिरोधात्मक घरको खाका पेस गरिरहेका बेला उनीहरुले भने पहिलेकै जस्तो परम्परागत र मौलिक शैलीकै घर बनाइदिन माग गरेका छन् ।
बारपाकमा पुनःनिर्माणको खाका बनाउन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले नेतृत्वको टोली आइतबार गाउँ पुग्दा स्थानीयबासीहरु आफ्नो बस्तीको भविष्यबारे जान्न आतुर देखिन्थे ।
बारपाकलाई फेरि पनि पुरानै वैभवमा कसरी फर्काउन सकिन्छ ? हामी बारपाकमा यहाँहरुसँग मिलेर काम गर्न चाहान्छौं, तपाईहरुको चाहना के छ ? सुरुमै शेष घलेले गाउँलेहरुलाई जिज्ञासा राखे ।
गाउँलेले आफुहरु बारपाक छाडेर अन्यन्त्र जान तयार नरहेको बताए । यही ठाउँमा भूकम्प प्रतिरोधी घर बनुन् र पहिलेजस्तै गाउँमै बस्न सकियोस् भन्ने गाउँबासीको एउटै स्वर देखिन्थ्यो ।
‘हामीलाई पहिलेकै जस्तो ढुंगाले छाएको घर चाहिन्छ । बरु त्यसलाई कसरी भूकम्पले नढल्ने बनाउन सकिन्छ इञ्जिनियरहरुले डिजाइन गर्नुपर्यो,’ स्थानीय जीतबहादुर घलेले भने- ‘हाम्रो बाउँबाजेले जोगाएको अस्तित्व नमेटियोस् ।’
भूकम्पको केन्द्रविन्दु बारपाकमा फेरि बस्ती बसाउन मिल्ने वा नमिल्ने भन्नेबारे अहिलेसम्म बिज्ञहरुले सुझाव दिइसकेका छैनन् । भूकम्पले वस्ती र आपसापका डाँडासमेत धाँजा फाटेका कारण फेरि बस्ती बस्न नसक्ने सुझाव आउला कि भन्ने चिन्ता छ गाउँलेहरुलाई ।
बारपाकबासीको मुख्य आय श्रोत पर्यटन भएकाले पनि उनीहरु आफ्नो मौलिकतालाई कायमै राख्न जोड-तोडका साथ लागि परेका छन् । करिव १४ सय घर परिवार रहेको गुरुङ गाउँ बारपाकलाई पर्यटकीय केन्द्र बनाउने गरी पुनःनिर्माण होस् भन्ने उनीहरुको चाहाना देखिन्छ ।
सरकार वा कुनै संस्थाले पूर्ण लगानी गरेर आफ्ना घर बनाइदियोस् भन्ने पक्षमा पनि देखिन्नन् उनीहरु । थोरै-धेरै आफै लगानी गर्न पनि तयार छन्, तर भूकम्प प्रतिरोधी प्रबिधिका लागि अन्य संस्थाको सहयोग पनि चाहान्छन् ।
बारपाकका धेरै परिवारका सदस्यजन विदेशमा समेत छन् । भूकम्प गएपछि लण्डनमा पढ्दै गरेकी शीला घले यतिबेला गाउँ फर्केकी छिन् । उनी भन्छिन्- लण्डन र काठमाडौंमा घर भएका मानिसको पनि यहाँ घर छ । उनीहरु वर्षको एकपटक गाउँ आउँछन्, हामी आफ्नो जन्मथलो फेरि उस्तै बनाउन चाहान्छौं ।’
विदेशमा रहेका सबै बारपाकीहरु भूकम्पपछि गाउँ फर्केर पीडितको सेवामा खटिएका छन् । यहाँका स्थानीयबासीको एकता साँच्चै लोभलाग्दो छ । सहयोगमा प्राप्त खाद्यान्न र तरकारीमात्र हैन, त्रिपाल, कम्बल पनि उनीहरुले गाउँलेलाई चित्त बुझाएर बाँड्छन्, कसैले गुनासो गर्नुपर्ने अबस्था आउँदैन ।
बारपाकमा जातीय विभेद र छुवाछुत हटिसकेको छ । दलित र गुरुङहरुबिच विवाह भएका उदाहरण पनि छन् । कुनै-कुनै घरमा बाहेक छुवाछुतको मतलब छैन । राहत वितरणमा अन्य जिल्लामा जस्तो असुरक्षा पनि छैन, बारपाकबासीहरु सबै मिलिजुली राहत लिन्छन् ।
प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताले बारपाकको अवलोकन गरिसकेका छन् ।
गाउँमा बस्ने स्थानीयवासीको चाहनाप्रति अध्यक्ष घलेले खुसी ब्यक्त गरे । ‘यति सुन्दर गाउँ घाडेर नजानुस्, यहीँ सम्भावना खोज्नुस्, त्यसका लागि तपाईहरुसित हातेमालो गर्न हामी तयार छौं,’ अध्यक्ष घलेले भने-‘तपाईंहरुको आत्मबल बढाउन, दुखेको घाउमा मल्हम लगाएर फेरि सुन्दर भविष्यको खाका बनाउन हामी सधैं यहाँहरुको साथमा हुने छौं ।’
बारपाकमा फेरि बस्ती बसाउन योग्य छ भन्ने विज्ञ र सरकारको सिफारिस आएपछि मात्र कसरी र कस्ता घर बनाउने भन्ने विषयमा छलफल अगाडि बढाउन सकिने घलेले बताए ।
करिब डेढ घण्टा गाउँलेहरुसँग छलफल गरेपछि छुटिनेबेला घलेले भने-‘हामी अहिले पनि अध्ययनकै चरणमा छौं, तपाईंहरुको चाहना हामीले बुझ्न पायौं, अब कसरी सहयोग गर्न सकिन्छ भन्ने खाका बनाउनेछौं ।’