प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ अर्ब ६३ करोड ५० लाख रुपैयाँ संकलन
४ जेठ, काठमाडौं । महाभूकम्पपछि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोमबार दिउँसोसम्म १ अर्ब ६३ करोड ५० लाख २९ हजार १ सय सात रुपैयाँ प्राप्त भएको जानकारी सरकारले दिएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार विश्वका विभिन्न राष्ट्रहरु, एसियाली विकास बैंक, विदेशी संघ–संस्था एवं व्यक्तिहरुबाट सो रकम प्राप्त भएको हो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कोषमा रकम आउनेक्रम जारी रहेको भन्दै प्राप्त रकमलाई भूकम्प प्रभावित जिल्लामा पठाइ वितरण भैरहेको जानकारी दिए ।
उनले नगदका अलावा, त्रिपाल, लत्ताकपडा औषधि, कम्बलजस्ता अत्यावश्यक वस्तुहरु पनि ती राष्ट्रहरुले पठाइरहेको भन्दै त्यसप्रति धन्यवाद व्यक्त गरे ।
उनले भूकम्पपछि क्षति पुगेका राजधानीलगायत देशका सहरी क्षेत्रका अग्ला घरहरु सुरक्षित तरिकाले भत्काउनका लागि विशेष उपकरण झिकाउने विषयमा विभिन्न राष्ट्रहरुसँग परामर्श भैरहेको जानकारी पनि दिए ।
भूकम्पले क्षति पु¥याएका संरचनाहरुमध्ये भत्काउनै पर्ने संरचनालाई टालटुल नगर्न सरकारले सबैलाई आग्रहसमेत गरेको छ ।
यस्तै, सुरक्षित र व्यवस्थित बस्ती निर्माणका लागि सहयोग गर्न तयार विदेशी तथा स्वदेशी संघ–संस्था र व्यक्तिहरुलाई सरकारले स्वागत गर्ने भन्दै उनले काम थाल्दा सरकारसँग आवश्यक परामर्श गरी अनुमति लिन आग्रह गरे ।