८ जेठ, रियाद । साउदी अरबको एक सिया मस्जिदमा शुक्रबार अपरान्ह आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएका छन् ।
साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै उल्लेख गरेअनुसार यो घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ ।
साउदी अरब सरकारले पनि यो विस्फोटको पुष्टि गरेको छ । अहिलेसम्म यो घटनाको जिम्मेवारी कुने संगठनले लिएको छैन । साउदी अरबमा कुनै पनि सिया मस्जिदमा पहिलो पटक आक्रमण भएको हो ।
एक प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बेला डेढ सय बढी मानिस मष्जिदमा नमाज पढिरहेका थिए । साउदी अरबमा शिया मुसलमानको जनसंख्या १० देखि १५ प्रतिशत रहेको छ ।
धेरैजसो सिया मुसलमानको बसोबास पूर्वी प्रान्त कातिफ प्रान्तीय राजधानी अल खोबरको दक्षिण-पश्चिमस्थित अलअहसामा रहेको छ ।
४ जेठ, टेक्सास । अमेरिकाको टेक्सास राज्यको वाको सहरमा सोमबार प्रतिद्वन्द्वी बाइकर समूहबीच भएको गोली हानाहानमा ९ जनाको मृत्यु र सयौं घाइते भएका छन् । सेन्ट्रल टेक्सास मार्केट प्लेसको रुपमा चिनिने ट्वीन पिक्स स्पोर्टस बार र सपिंग एरियाको ग्रिलमा उक्त घटना भएको थियो ।
आठको घट्नास्थलमा र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुई समुहबीचको गोलीबारीले उक्त क्षेत्र लगभग युद्ध मैदानमा परिणत भएको प्रत्यक्षदर्शीहरुले बताए । त्यहाँ ३० बन्दुकबाट सयौं राउण्ड गोली प्रहार भएको दाबी गरिएको छ । घटनास्थलमा सशस्त्र प्रहरी नआइपुग्दासम्म उक्त क्षेत्रमा रहेका रेष्टुरेन्ट व्यवसायी र ग्राहकहरु भित्रै लुकेर बसेका थिए । उनीहरुलाई पछि स्कर्टिंग गरेर निकालिएको थियो ।
पार्किङ क्षेत्रमा भएको यो घटनामा ५ समूह संलग्न रहेका थिए । मुक्काबाट सुरु भएको यो भिडन्त चेन, लाठी, छुरा हुँदै बन्दुकसम्म पुगेको थियो । त्यो क्षेत्रमा ३४ वर्षको अवधिमा भएको सबैभन्दा ठूलो आतंकपूर्ण घटना मानिएको छ ।
कायरो, जेठ ३ – बन्दुकधारीले इजिप्टमा शनिबार तीन जना न्यायाधीशको गोलीहानी हत्या गरेका छन् ।
बन्दुकधारीले शनिबार इजिप्टको सिनाई प्रान्तमा ती न्यायाधीशको हत्या गरेका हुन् । सिनाई इजिप्टको द्वन्द्वग्रस्त प्रायद्वीप हो ।
इजिप्टको राजधानी कायरोमा शनिबारै त्यहाँका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको केही घन्टापछि मात्र ती न्यायाधीशमाथि बन्दुकधारीले गोली प्रहार गरेका हुन् ।
सो क्षेत्रमा यसअघि पनि पूर्व राष्ट्रपति मोर्सीका समर्थहरुले प्रहरी र सरकारी अधिकारीहरुमाथि आक्रमण गर्ने गरेका थिए ।
तर त्यस हत्याको जिम्मेवारी भने कसैले लिएको छैन । प्रहरीले हत्याराको खोजीकार्य जारी रहेको बताएको छ ।