१३ जेठ, काठमाडौं । मकवानपुरको हटियास्थित शिवम् सिमेन्ट उद्योगका कारण स्थानीय चार गाविसका सर्वसाधारण उच्च जोखिममा परेका छन्। उनीहरू विस्थापित हुने अवस्थामा पुगेको संसद्को एक समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्।
संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गरेको छ।
'चार गाविसका करिब ४० हजारभन्दा बढी घरपरिबार जोखिममा मात्रै होइन, विस्थापित हुने अवस्थामा पुगेका छन्', समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका सभापति सुभासचन्द शाह ठकुरीले अन्नपूर्ण पोस्ट्सँग भने, 'शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण वरिपरिका गाविसका बासिन्दाको अवस्था दयनीय भेटिएको छ।' उनका अनुसार स्थानीय बासिन्दाको गुनासोका आधारमा उक्त क्षेत्रको स्थलगत अध्ययन गरिएको थियो।
उनका अनुसार उद्योगबाट निस्कने धुवाँ र काम नलाग्ने फोहोरजन्य धुलोका कारण बन, जंगली जनावर, वातावरण, खानेपानी, कृषि, मानव स्वास्थ्य, नदी र नदीमा रहने जीवजन्तु, पर्यावरणलगायत क्षेत्रमा प्रतिकूल असर पारेको छ।
उपसमितिले दिएको प्रतिवेदनअनुसार सिमेन्टको खानी क्षेत्रका कारण मकवानपुरको सुकौरा गाविसका वडा नम्बर २, ३,४, ५, ६, ७ र ८ का कलवान, तारुबास, बुर्जालेक, चापकीलेक तथा बुढीचौर गाविसका बडा नम्बर ३ र ६ का गुर्दुमबस्ती र ठिंगनका साथै आमभन्ज्याङ गाविसका बासिन्दा पहिरोको समेत उच्च जोखिममा परेका छन्।
'खानी क्षेत्रबाट उत्सर्जन भएका काम नलाग्ने फोहोर सामग्री विसर्जनमा अपनाइएको लापरबाहीका कारण सामरिक नदीको सतह माथि उठ्दै गएको र वर्षायाममा पानी धमिलो भएका कारण पशुहरूमा नकारात्मक समस्या देखापरेको छ',।
प्रतिवेदनमा उल्लेख छ, 'शिवम् सिमेन्टको खानी क्षेत्रमा खानेपानीको मुख्य स्रोत सामरिक खोला भएकाले खानी सञ्चालन भएपछि अहिले स्थानीय चार गाविसका बासिन्दासँगै हेटौंडा उपमहानगरपालिकाका बासिन्दासमेत खानेपानीको विकराल समस्यामा परेका छन् । उनीहरूले खानेपानीबाट वञ्चित हुनुपरेको छ।'
[quote]चार गाविसका करिब ४० हजारभन्दा बढी घरपरिबार जोखिममा मात्रै होइन, विस्थापित हुने अवस्थामा पुगेका छन्।[/quote]
ठकुरीका अनुसार खानीका कारण सामरिक खोलाबाट स्थानीय गाविस र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा जाने दैनिक ३० लाख लिटर खानेपानी अहिले अवरुद्ध भएको छ।
धमिलो पानी, धुलो र धुवाँका कारण कृषि उत्पादनमा प्रतिकूल असर पर्नुका साथै सामरिक नदीको सतह बढेर नदीमा आउने बाढीका कारण किनारमा रहेका बस्तीहरूको बर्सेनि उठीबास भइरहने उपसमितिले जनाएको छ।
ठकुरीका अनुसार खानी सञ्चालन रहेको तल्लो भेगमा जति बेला पनि पहिरो जाने प्रबल सम्भावना देखिएको छ। 'पहिरोको भयले तल्लो भेगका सम्पूर्ण गाविसका बासिन्दासँगै कृषि क्षेत्र र विकासका पूर्वाधार पनि उच्च जोखिममा परेका छन्', उनले भने।
१२ जेठ, नुवाकोट । भूकम्पपछि रसुवामा हराइरहेकामध्ये ५ सय २५ जना नागरिक मृत या जीवित कुन अवस्थामा छन्, अझै भेटिन सकेका छैनन् ।
अहिलेसम्म ५ सय ८१ जनाको मृत्यु भएको रसुवा जिल्लाभर वैशाख १२ गतेको भूकम्पले यहाँ मात्रै यति ठूलो संख्यामा मानिसहरु बेपत्ता भएको अनुमान गरिएको हो । यीमध्ये अधिकांश भूकम्पका कारण गएको पहिरोमा पुरिएका थिए ।
तर, भूकम्प गएको २५ दिनसम्म पनि रसुवामा कतिजना मानिस पहिरोमा परेर ज्यान गयो भन्ने यकिन विवरण आउन नसकेको समाचारपत्रमा खबर छ ।
प्रहरीका अनुसार बेपत्तामध्ये एक सय जना पर्यटक गाइड तथा भरिया, २ सय ५० पर्यटक, एक सय ५० स्थानीय र मैलुङस्थित त्रिशुली-१ जलविद्युत आयोजनामा कार्यरत २२ जना मजदुर छन् । त्यसबाहेक हराइरहेकामध्ये धेरैजना लाङटाङमा गएको पहिरोमा पुरिएको पुरियै छन् ।
पहिरोको दलदल र माथिबाट निरन्तर बगिरहेको हिमपहिरोले पुरिएकाको खोजी र उत्खनन्मा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लाङटाङकै अर्को बस्ती क्यान्जिङमा पनि हिमपहिरो खस्ने क्रम सुरु भएपछि त्यहाँका १ सय ७० जना स्थानीयको उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ ।
१२ जेठ, काठमाडौं । मुलुककै ध्यान विनासकारी भूकम्पले ल्याएको विपत् व्यवस्थापनमा केन्द्रित भइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विश्व बैंकसँग गरेको वित्तीय सम्झौता उल्लंघन गर्दै एउटा महत्त्वपूर्ण आयोजनाको खाता सञ्चालन जिम्मेवारी जिल्ला विकास समितिलाई दिने निर्णय गरेको छ।
विश्व बैंकको ऋण सहयोगमा सञ्चालित 'राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण आयोजना'को खातापाता सञ्चालन सम्बन्धित जिल्ला प्राविधिक कार्यालयबाट खोसी जिविसलाई दिने निर्णय गरेपछि विवादमा परेको छ।
यो निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सम्बन्धित जिल्लालाई पत्राचारसमेत गरेपछि विश्व बैंकले स्थानीय विकास सचिव सोमलाल सुवेदीलाई डेढ साताअघि औपचारिक पत्र लेखी आपत्ति जनाएको छ।
विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कामाताले सचिव सुवेदीलाई पठाएको पत्रमा 'विश्व बैंक र नेपाल सरकारबीच २४ मार्च, २०१४ मा भएको सम्झौताअनुसार जिविसले जिल्ला प्राविधिक कार्यालय आयोजना कोष सञ्चालन गर्न अख्तियारी दिने' सम्झौता उल्लंघन भएको भन्दै आपत्ति प्रकट गरेको छ।
'यो प्रकरण समाधान नभए विश्व बैंकले वित्तीय सम्झौताअनुसार ती जिल्लामा सञ्चालित आयोजना रद्द गर्नेछ', पत्रमा छ।सचिव सुवेदीको निर्णयलगत्तै मन्त्रालयका उपसचिव (लेखा) सुवासचन्द्र शिवाकोटीले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग, ७५ वटै जिल्ला विकास समिति कार्यालय, सबै नगरपालिका र आयोजना/कार्यक्रमलाई निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका थिए।
देशभरका ३३ जिल्लामा लागू भएको यो आयोजना नेपाल सरकार, विश्व बैंक र बेलायती सहयोग नियोग (डीएफआईडी) को लगानीमा अघिल्लो वर्ष सुरु गरिएको हो।
कुल १७ करोड ५४ लाख अमेरिकी डलर (१७ अर्ब ५४ करोड रुपैयाँ) लागत रहेको यो आयोजनामा विश्व बैंकले ३६ प्रतिशत (६ करोड ३९ लाख डलर) लगानी गरेको छ।
स्रोतका अनुसार जिल्ला प्राविधिक कार्यालयको अधिकार कटौती गरी आफ्नो नियन्त्रणमा ल्याउन मन्त्रालयका लेखा प्रमुख, सम्बद्ध स्थानीय विकास अधिकारी र मन्त्रालयका उच्च तहका केही अधिकृत लागिपरेका हुन्।
मन्त्रालयले कैलाली र बर्दिया जिल्ला विकास समितिलाई खाता सञ्चालनमा रोक लगाउने पत्र पठाएलगत्तै उनीहरूले पनि तत्काल निर्णय कार्यान्वयन गरेका थिए।
खाता सञ्चालन सम्बन्धमा मातहतका सबै निकायलाई परिपत्र गरेका मन्त्रालयका उपसचिव (लेखा) सुवासचन्द्र शिवाकोटीले आफूले प्रेषित गरेको पत्रमा कतै पनि आयोजना नतोकेको बताए।
शिवाकोटीकै पत्रलाई उल्लेख गर्दै जिविस कैलाली र बर्दियाले आयोजनाको खातापाता जिविसमार्फत सञ्चालन हुने जनाउ दिएका थिए।शिवाकोटीले सचिवस्तरीय निर्णयलाई कानुनत: परिपत्रमात्र गरेको बताए।
'त्यो मैले गरेको पत्राचारमा कतै पनि एसएनटीआरपी (राष्ट्रिय ग्रामीण यातायात पहुँच सुदृढीकरण आयोजना) लेखेको छैन', शिवाकोटीले सोमबार अन्नपूर्णसित भने।
११ जेठ, काठमाडौ । सरकारले भूकम्पपीडितलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँँसम्म ऋणको साँँवा र ब्याज मिनाहा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् हँुदै समितिमा पुगेको भूकम्पपछिको एकीकृत कार्ययोजना बनाउने क्रममा ऋण मिनाहाको पनि निर्णय भएको हो।
यससम्बन्धी कार्यविधि राष्ट्र बैंक र अर्थ मन्त्रालयले तयार पार्दै छन्। ‘कति ऋण हो?, भूकम्पबाट कति क्षति भएको हो?, आर्थिक हैसियत के हो? के शीर्षकमा ऋण लिएको हो? भन्ने विषयको मूल्यांकन गरेर मिनाहा गरिने हो,’ महतले भने, ‘यससम्बन्धी कार्यविधि बन्दै छ। मोडालिटीबारे कार्यविधिले निर्धारण गर्नेछ।’
कार्यविधि बनाउन अर्थ र राष्ट्र बैंक जुटिसकेको उनले बताए। समितिको निर्णयअनुसार यस्तो कार्यविधि १५ दिनभित्र बनाइसक्नुपर्नेछ। ‘प्रभावित क्षेत्रका बैंकका ऋणीहरूका लागि ऋणको सीमा, आर्थिक अवस्था र क्षतिको आधार हेरी ब्याज र ऋण भुक्तानी तोकिएको पुनर्संरचना गर्ने एवं कार्यविधिबमोजिम ५० हजारसम्मको ऋणको साँँवा र ब्याज मिनाहा दिने,’ निर्णयमा उल्लेख छ।
ऋण मिनाहा सरकारी मात्रै नभएर निजी बैंकले समेत गर्नुपर्नेछ। त्यसको प्रावधानबारे अहिले नै कार्यक्रम भने बनिसकेको छैन। समितिका सचिव शान्तराज सुवेदीले ऋण मिनाहाको निर्णय भए पनि थप व्यवस्था कार्यविधिले गर्नेछ।
‘यो जुन कुनै बैंकबाट ऋण लिएको भए पनि मिनाहा दिनुपर्छ,’ उनले भने, ‘यससम्बन्धी बृहत् कार्यविधि भने दुई निकायले बनाउनेछन्। उक्त मापदण्डका आधारमा कार्यक्रम तह हुनेछ।’ कार्यविधि बनिसकेपछि चालू आर्थिक वर्षको असार मसान्तसम्मको यससम्बन्धी काम सम्बन्धित बैंकले सक्नुपर्नेछ। सरकारको उक्त निर्णयपछि मिनाहा भएबराबरको रकम सरकारले बेहोर्नुपर्नेछ।
सरकारले यसअघि भूकम्प प्रभावितहरूका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिसकेको छ। २ प्रतिशत ब्याजमा १५ देखि २५ लाख रुपैयाँँसम्म ऋणको व्यवस्थासम्बन्धी उक्त व्यवस्थाको कार्यविधि राष्ट्र बैंकले छलफलका लागि राखेको छ।
११ जेठ, काठमाडौ । वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट होलिकप्टर चढाइएका ५ घाइते अझै बेपत्ता छन्। उपचारका लागि हेलिकप्टर चढाएको १३ दिनसम्म पनि काठमाडौंका कुनै अस्पतालमा ती घाइते नभेटिएपछि उनीहरू दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै थिए कि भन्ने आशंका बढेको छ।
चढेको समय, हेलिकप्टरको उडान तालिकासमेत हेरेर घाइतेका आफन्तले सोही दिन दुर्घटना भएको अमेरिकी मरिन कप्र्सको यूएच–१ वाई हुवेमा आफन्त परेको हुन सक्ने अनुमान गरेका हुन्। आफन्तजन सुरक्षा निकाय, स्थानीय प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग गुहार्दै हिँडेका छन्। बेपत्ता भएकामा लादुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन्।
उनीहरूका आफन्तले क्षतिग्रस्त सिंगटीमा उक्त दिन दिउँसो २ बजेतिर उद्धार गर्न आएको अमेरिकी हलिकप्टरमा चढाएको तर काठमाडौं र बनेपाका सबै अस्पताल चहार्दा पनि फेला नपरेको बताए। ‘भूकम्पमा परी भाइ घाइते भएपछि केहीबेरमा आएको अमेरिकी हेलिकप्टरभित्र मैले चढाए। अरू ४ घाइते पनि राखियो,’ हराएका घाइते ध्रुवका दाजु पुनम कटवालले आइतबार कान्तिपुरसँग भने, ‘मैले भाइलाई अहिलेसम्म भेटेको छैन।’ काठमाडौंका सबै अस्पतालमा हरेक दिन जस्तो खोजी गरिरहेका आफन्त अच्युत्तम कटवालले विरामी नभेट्दा आफूहरू निराश भएको र दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै परेको हो कि भन्ने शंका लागेको बताए।
‘हामी बनेपादेखि थानकोटसम्मका सरकारी, निजी सबै अस्पताल पुगिसक्यौं,’ अच्युत्तमले भने, ‘कुनै अस्पतालको रेकर्डमा ती ५ जना घाइतेको नाम छैन।’ यत्रो दिन बितिसक्दा समेत कुनै घाइतेले सम्पर्क नगरेकोमा उनीहरू आश्चर्यमा परेका हुन्।
अर्का घाइते शिव खत्रीका छोरा विश्वासले हेलिकप्टर चढाएको भोलिपल्टदेखि लगातार खोजी गर्दा फेला नपरेपछि आफू अहिले गाउाँमै फर्किएको प्रतिक्रिया दिए। ‘सबै घाइतेका आफन्त मिलेर हामीले लगातार खोज्यौं। थाकेपछि म अहिले घर फर्केको छु,’ सिंगटी पुगेका विश्वासले भने, ‘उता बुबा भेटिनुभएको छैन। यता गाउँको घर पुरै ध्वस्त छ। टहरो हाली बाँकी परिवार राख्न केही दिनलाई गाउँ आएको छु।’
दोलखाको चरिकोटमा रहेको बर्दबहादुर गण, जिल्ला प्रहरी, काठमाडौंमा त्रिभुवन विमानस्थलस्थित सेनाको ब्यारेक र सैनिक अस्पताल छाउनीमा समेत पुगी हेलिकप्टरबाट पठाएका बिरामीको अवस्था बुझेको आफन्तजनले बताए। ती निकाय आफैं अन्योलमा परेको र कतिपयले खोजिरहेका छौं भन्ने जवाफ दिँदै आएका छन्। स्पष्ट जवाफ नपाएपछि उनीहरूले घाइतेको अवस्था बुझ्न मानवअधिकार आयोगमा समेत निवेदन दिएको र आयोगले बुझिरहेको अच्युत्तमले बताए।
सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले हराइरहेका घाइतेबारे मानवअधिकार आयोगबाट समेत चासो व्यक्त भएको बताए। ‘हामीले पनि अस्पताललगायत धेरैतिर खोज्यौं तर फेला पारेका छैनौं। त्यहाँ पुगेका हाम्रो, भारतीय र अमेरिकी सेनाका सबै हेलिकप्टरका मेनिफेस्टो झिकाएर हेर्यौ, उनीहरूको नाम फेला परेको छैन। आफन्तले अमेरिकी हेलिकप्टर चढाएको भनेका छन् तर स्थानीय प्रशासनबाट कतिबेला, कुन हेलिकप्टर चढाइएको हो स्पष्ट जानकारी आएको छैन,’ उनले भने।
दोलखा प्रहरी प्रमुख डीएसपी अजय केसीले पनि स्थानीय आफन्तले भूकम्पलगत्तै आएको अमेरिकी हेलिकप्टरमा ५ घाइतेलाई चढाएको तर नभेटिएको उजुरी परेको बताए। ‘वैशाख २९ को भूकम्पका बेला हाम्रो प्रहरीको टोली पारिपट्टिको गाउामा खोज तथा उद्धारमा खटिएको थियो। स्थानीयले त्यसैबेला आएको अमेरिकी हेलिकप्टरले ५ घाइते लगेको बताएका छन्। यसबारे छानबिन भइरहेको छ,’ आइतबार छानबिनकै क्रममा सिंगटी पुगेका डीएसपी केसीले भने।
डीएसपी केसीका अनुसार त्यसपछि सिंगटी पुगेका हेलिकप्टरको मोनिटरिङ प्रहरीले नै गरेको थियो। ‘ती हेलिकप्टरमा उडेकाको सूचीमा ती हराएका ५ घाइतेका नाम छैन,’ उनले भने। दोलखाका सभासद पशुपति चौलागाईंका अनुसार काठमाडौंमा आएर परिवारको सम्पर्कमै आउन नसक्ने खालको गम्भीर अवस्थाका घाइतेहरू नभएको बताए। ‘आफैले फोन गरेर अवस्था बताउन सक्ने थिए। तर अहिलेसम्म पत्तो लागेको छैन। यसलाई सरकारले गम्भीर रूपमा लिई वास्तविकता बाहिर ल्याउनुपर्छ,’ चौलागार्इंले भने।
हुवे हेलिकप्टर वैशाख २९ गते दिउँसो साढे २ बजेदेखि सुनाखानी इलाकाबाट सम्पर्कविहीन भएको थियो। हेलिकप्टर तीन दिनपछि जेठ १ गते दिउँसो सिन्धुपाल्चोकको घोर्थली गाविस–३ मा ११ हजार २ सय फिट उचाइको अतिविकट स्थानमा क्षतिग्रस्त रूपमा फेला परेको थियो। अहिलेसम्म नेपाली सेनाले गराएको जानकारीअनुसार त्यसमा २ नेपाली र ६ अमेरिकी सैनिक थिए। दुर्घटनामा परी मृत्यु हुने नेपाली सैनिकमा दैलेखको नारायण नगरपालिका–८ रिन्हा निवासी सह–सेनानी तपेन्द्र
रावल र दार्चुलाको शिखर गाविस–३ वरेल निवासी जमदार बसन्त तितरा छन्।
दुर्घटनास्थलमा शव टुक्राटुक्रा अवस्थामा छरिएको भेटियो। सैनिक टोली घटनास्थल पुग्दा हेलिकप्टर जलेको र आगो पूर्णरूपमा निभिसकेको थिएन। हेलिकप्टर फेला परेको तेस्रो दिन जेठ ३ गतेमात्रै दुर्घटनामा परी मृत्यु भएका सबै ८ सैनिकको शव काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण शव ल्याउन ढिलाइ भएको सेनाले जनाएको छ।
सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बे–९ मा राखी टुक्राटुक्रा अवस्थामा रहेका शव पहिचानको प्रयास गरियो। घटनास्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शवका टुक्राहरू संकलन गरेर ल्याई नेपाली सेनाको जिम्मा लगाइएको डीआईजी हेमन्त मल्लले जानकारी दिए। शवका टुक्राहरूको नमुना डीएनएलगायत परीक्षणका लागि अमेरिकी सेनाले नै लगेको छ। परीक्षणपछि मात्रै शवको पहिचान हुने र नेपाली सैनिकको शव एक टुकडीले अन्तिम सम्मान दिई दाहसंस्कारका लागि हवाई साधनबाट सम्बन्धितको गृह जिल्ला लगी आफन्तलाई बुझाइने छ। डीएनए परीक्षणबाट हेलिकप्टरमा सैनिकहरू मात्र रहेको वा अरू पनि रहेकोजस्ता कुरा खुल्ने सैन्य प्रवक्ता पोखरेलले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार १२ बजेर ५६ मिनेटमा भुइँचालो आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो। त्यसबीचमा थुपै हेलिकप्टर
उद्धारका लागि उडेका थिए। त्यही बेला उडेको हुवे दुर्घटनाग्रस्त भएको थियो।
सैनिक स्रोतका अनुसार हेलिकप्टरको सञ्चार यन्त्र र जीपीएस अफ गरिएको थियो। त्यसैले दुर्घटनाग्रस्त हेलिकप्टर पत्ता लगाउन ढिलाइ भयो। सेनाका अनुसार नेपाली सैनिकको मोबाइल ट्रयाक गरेर हेलिकप्टर दुर्घटनास्थल पहिचान गरिएको थियो। दुर्घटनाका दिन सैनिकको मोबाइल साँझ ६ बजेसम्म अन नै थियो। शवसँगै मोबाइल पनि डढेका कारण ६ बजेपछि अफ भएको सेनाको अनुमान छ। दुर्घटनास्थलबाट चीनको सीमा ६ किलोमिटरको दूरीमा छ।
सेनाले आन्तरिक छानबिनका लागि विमान चालक सहायकरथी सुधीर श्रेष्ठको नेतृत्वमा ५
सदस्यीय टोली बनाएको छ, टोलीले छानबिन गरिरहेको छ। दुर्घटनाग्रस्त हेलिकप्टर अमेरिकी सेनाको ३६ औं कार्गोमा जापानबाट ल्याइएको हो। यस्ता हेलिकप्टर तीनवटा ल्याइएका थिए भने
लडाकु भी २२ ओस्प्रे चारसहित सात अमेरिकी विमान खोज तथा उद्धार कार्यका लागि नेपाल आएका थिए।
१० जेठ, काठमाडौं । नेपाली सेनाले भूकम्प प्रभावित सैनिकहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ । भूकम्पमा परी मृत्यु भएका सैनिकको परिवारलाई सैनिक कल्याणकारी कोषबाट ३ लाख २५ हजार प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले भएको छ ।
दुर्घटना बीमा र साधारण बीमाको रकम २ लाख ७५ हजार गरी अधिकृतको परिवारले ६ लाख पाउनेछन् । पदिकको दुर्घटना बीमा र साधारण बीमा २ दाख २५ हजार र अन्य दर्जाको १ लाख ७५ हजार छ ।
भूकम्पमा परी मृत्यु भएका अवकाश प्राप्त सैनिकको परिवारलाई ३ लाख २५ हजार प्रदान गरिने निर्देशनालयले जनाएको छ । भूकम्पमा पूर्ण रुपमा घर भत्किएका बहालवाला र अवकाश प्राप्त सैनिकलाई ५० हजार र आंशिक क्षति भएकालाई २५ हजार राहत दिइने छ ।
यस्तै भूकम्पमा अंगभंग भएका सैनिकलाई अशक्तताका आधारमा १ लाखसम्म राहत दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साथै भूकम्पमा मृत्यु भएका बहालवाला वा अवकाशप्राप्त सैनिकका छोराछोरीलाई विद्यालय अध्ययन गर्न प्रधानसेनापति छात्रवृत्ति तथा बहालवाला सैनिकका छोराछोरीलाई प्लस टुसम्म सैनिक महाविद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था हुनेछ । बहालवाला तथा अवकाश प्राप्त सैनिकको परिवारमा कसैको मृत्यु भएको भए १० हजार दिइनेछ ।
भूकम्पमा घर क्षतिग्रस्त भएका सैनिकलाई भूकम्प प्रतिरोधात्मक घर बनाउन आवश्यक परामर्श दिन टेक्निकल सपोर्ट टिम गठन गरिने छ । साथै भूकम्प प्रभावित सैनिकको परिवारको उपचारका लागि घुम्ती स्वास्थ्य शिविर चलाइने सेनाले जनाएको छ ।
९ जेठ, सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित नयाँगाउँका एक युवाले सामन्य विवादमा पत्नीकोे हत्या गरेका छन् ।
सामान्य बिवादमा स्थानीय तुलसिं नेपालीले पत्नी गीता नेपालीको शुक्रबार राती हत्या गरेका हुन् ।
दिउँसो छिमेकीको मलामी गएर फर्किएका उनले राती आठ बजेतिर २३ वर्षीया गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मलामीबाट घर आएका तुलसिंले खाना खाने समयमा एक्कासी पत्नीलाई खुकुरी हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत चौधरीले बताए । प्रहरीका अनुसार तुलसिंले पत्नीको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पत्नीको हत्या गरेपछि तुलसिंले आफ्नो पेटमासमेत खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेका थिए ।
गम्भीर घाइते तुलसिंको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
स्थानीय बासिन्दाका अनुसार गीता र तुलसिंको ६ वर्ष अघि विवाह भएको थियो । उनीहरूको चार वर्षका छोरा छन् । मजदुरी गर्दै आएका तुलसिं र गीताबीच शुक्रवार बिहान खटपट भएपछि तुलसिं छिमेकीको मलामी गएका थिए ।
मलामीबाट फर्केर राती घरमा आएपछि खाना खाने समयमा पत्नीमाथि खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीयका अनुसार गीताले पति र छोरालाई खाना पस्केर आफूलेसमेत खाने तयारी गरिरहेकी थिइन् । तर, पतिले एक्कासी खुकुरी प्रहार गरेर हत्या गरेपछि उनले पस्केको भात समेत खान नपाएको छिमेकीको भनाइ छ ।
गीताको हत्यापछि अहिले गाउँ नै शोकमा डुबेको छ । छिमेकी तथा आफन्तहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्. । जिल्ला प्रहरी कार्यालयले भने घटनाको मुचुल्का उठाएको छ ।
अब कारबाहीको प्रक्रिया सुरु गरिने जानकारी दिएको छ । पत्नीको हत्यामा संलग्न तुलसिंलाई प्रहरीले पक्रेको छ ।
८ जेठ, रियाद । साउदी अरबको एक सिया मस्जिदमा शुक्रबार अपरान्ह आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएका छन् ।
साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलार्इ उधृत गर्दै उल्लेख गरेअनुसार यो घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको छ ।
साउदी अरब सरकारले पनि यो विस्फोटको पुष्टि गरेको छ । अहिलेसम्म यो घटनाको जिम्मेवारी कुने संगठनले लिएको छैन । साउदी अरबमा कुनै पनि सिया मस्जिदमा पहिलो पटक आक्रमण भएको हो ।
एक प्रत्यक्षदर्शीका अनुसार विष्फोटका बेला डेढ सय बढी मानिस मष्जिदमा नमाज पढिरहेका थिए । साउदी अरबमा शिया मुसलमानको जनसंख्या १० देखि १५ प्रतिशत रहेको छ ।
धेरैजसो सिया मुसलमानको बसोबास पूर्वी प्रान्त कातिफ प्रान्तीय राजधानी अल खोबरको दक्षिण-पश्चिमस्थित अलअहसामा रहेको छ ।
८ जेठ, एजेन्सी । करिब ४२ वर्षअघि बेपत्ता भएका एक हिमआरोहीको शव भेट्टिएको छ । हिमाल आरोहणका क्रममा बेपत्ता भएका न्युजिल्यान्डका हिमआरोही डेभिड एरिक मोएनको शवको पहिचान उनका परिवार र आफन्तले समेत गरेका छन् ।
सेप्टेम्बर १९७३ मा डेभिड १९ वर्षका हुँदा आफ्ना साथीहरुका साथमा साउथ आयल्यान्को माउन्ट कुक नेशनल पार्कको टासमान ग्ल्येसियरको हिमपहिरोमा फसेका थिए ।
उनीसँगै हिमआरोहणमा गएका उनका साथीको शव त्यही बेला फेला परेपनि डेभिड भने फेला परेका थिएनन् । यो सालको फेब्रुअरीमा पनि दुर्इ पर्वतारोहीको शवको अवशेष फेला परेको थियो । उनीहरुको शवको डिएनए परीक्षणबाट पहिचान गर्न सकिएको थियो ।
डेभिडका परिवारले उनलार्इ श्रद्धाञ्जली दिँदै उनीबारे बोल्न आफूसँग कुनै शव्द नरहेको जनाएका छन् । 'हामीलार्इ पुगेको क्षतिको बयान गर्न हामीसँग कुनै शव्द छैन', डेभिडका परिवारले भनेका छन्, 'लामो प्रतिक्षापछि उनी फेला परे, उनी हराएपछि हामी निरन्तर शोक र पींडामा थियौं ।
७ जेठ, काठमाडौँ । दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले भूकम्प पीडित जनताको पीडामा दुःख व्यक्त गर्दै थप सहयोग गर्न नेपाल आउने बताउनुभएको छ ।
विहीबार भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको हो ।
नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । यसअघि मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ राजदूत उपाध्यायलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा आउने पनि बताउनुभएको छ । नेपालका भूकम्प पीडितलाई प्रत्यक्ष भेटेर सहयोग गर्न आफूले तयारी गरिरहेको केजरीवालको भनाई थियो ।
भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताउनुभएको थियो । राजदूत उपाध्यायले मुख्यमन्त्री केजरीवालसँग नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।
नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराउनुभएको थियो । जवाफमा केजरीवालले दिल्ली सरकारले नेपालमा आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो ।
७ जेठ, काठमाडौं । चीनले विनाशकारी भूकम्पका कारण तहसनहस भएका सडक तथा आवासहरु पुननिर्माणमा सघाउने इच्छा देखाएको छ ।
भूकम्पपछिको राहत, पुनःस्थापना र पुनःनिर्माणबारे नेपाली अधिकारीहरुसँग छलफल गर्न चीनका सहायक विदेशमन्त्री लियू जियानचाओ नेपाल आएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग गर्दै लियूले भूकम्पले भत्किएका सडक र भवनहरु पुनःनिर्माणमा सघाउन चीन तयार रहेको बताए । यसबारे नेपाल सरकारसँग छलफल गर्ने उनले बताएका छन् ।
चीनका सहायक विदेशमन्त्री लियूले बिहीबार नै प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भूकम्पले भएको क्षति, खोजी, उद्धार, राहत र अब हुने पुस्थापना तथा पुनःनिर्माणबारे छलफल गरेका छन् ।
यस पटकको भूकम्प नेपालले ८२ बर्षपछि बेहोरेको सबैभन्दा ठूलो विपत्ति भएको भन्दै उनले आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको बताए । विशेषज्ञ सहितको टोली आधुनिक उपकरण सहित खोजी र उद्धारमा पठाएर चीनले नेपालको पीडामा मल्हम लगाएको कोइरालाले बताएको उनको निजी सचिवालयले जनाएको छ ।
कोइरालाले खोजी र उद्धार कार्य समापन तिर गएको तथा राहत र पुनःस्थापना चलिरहेको बताए । साथै वषर्ा अगावै पीडितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने कार्य चुनौतिपूर्ण भएको बताए ।
भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनहरुलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्नमा पनि सहयोग आवश्यक पर्ने उनले बताए । कोइरालाले पुनःस्थापना र पुनर्निर्माणमा पनि नेपाललाई मित्रराष्ट्रहरुको हयोग आवश्यक पर्ने बताएका छन् ।
उनले चीनले दिने सहयोग निरन्तर जारी राख्ने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा चीन-नेपाल-भारतका बीचमा आर्थिक करिडर बनाउने बिषयमा कुरा भएको भन्दै उनले नेपालले गर्ने दातृृ राष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने बताए ।
६ जेठ, काठमाडौं । भूकम्पले बढी प्रभावित जिल्लामा त्रिपालसहित राहत सामग्री आइनपुगेको गुनासो कायमै छ । यता, प्रभावित क्षेत्रमा पठाउने भनी स्वदेश र विदेशबाट जुटाएका सामग्री भने सरकारी गोदाममा थन्किएका छन् ।
फितलो व्यवस्थापन र ढुवानी खर्च समेतको अभावमा हप्तादिन देखि राहत सामग्री गोदाममा रोकिएको रहस्य खुलेको छ ।
सिंहदरवारस्थित नेसनल ट्रेडिङ्गमा एक सातादेखि करिव २५ हजारको संख्यामा त्रिपाल रोकिएर बसेका छन् । तत्कालै वितरण गर्नुपर्ने सामग्री यसरी रोकिएको भन्दै प्रभावित जिल्लाका सभासदहरुले विरोध समेत गरेका छन् । सम्बन्धित मन्त्रालयमा राजनीतिक भागवण्डाका लागि दवाव दिएका कारण ठूलो मात्रामा विदेशबाट आएका सामाग्री वितरण हुन सकेको छैन ।
‘पाल चाहियो भनेर माग गर्न आउने संख्या अझै घटेको छैन । गोदाममा रहेका पाल किन रोकिएको हो हामीले पनि थाहा पाउन सकेका छैनौं’ नेसनल ट्रेडिङ्गमा खटेका एक कर्मचारीले मंगलबार कान्तिपुरसँग भने । उनका अनुसार गोदाममा छिमेकी भारत, बंगलादेश र स्वदेशकै दाताहरुबाट उपलब्ध भएका २५ हजार वटा त्रिपाल छन् ।
थापाथलीस्थित खाद्य संस्थान र नेसनल ट्रेडिङ्गमै पनि चिउरा, चामल र दाल गोदामभरी थन्किएका छन् । केही खाद्य सामग्री कुहिएका छन् ।
त्रिपाल खरिदमा अनियमितता भएको आशंकामा आपूर्ति र शहरी विकास मन्त्रालयबीच कसले वितरण गर्ने भन्ने विवादले केही दिन लम्बिएको स्रोतले बतायो । सुरुमा सहरीले खरिद गरी वितरण पनि उसैले गर्ने भनेपनि पछि खाद्यसँगै त्रिपाल पनि आपूर्तिबाट वितरण गरिने व्यवस्था गरिएको छ ।
अनियमितता र अव्यवस्थापनको गुनासो प्रधानमन्त्री कार्यालयमा समेत पुगिसकेको छ । सरकारी संयन्त्रबीच पर्याप्त समन्वय नभएको जिल्ला तहबाट गुनासो बढेपछि प्रधानमन्त्री सुशिल कोइरालाले सम्बन्धित मन्त्रीलाई बोलाएर ध्यानाकर्षण गराएको बालुवाटार स्रोतले बतायो ।
ढुवानीको पैसा रोकिदा समेत सामाग्री गोदाममा थन्किएको पाइएको आपूर्ति मन्त्रालयका अधिकारीले जानकारी दिए ।
‘जिल्लामा सामग्री पुर्याउने ट्रकलाई पैसा दिन केही दिन ढिला भएको हो । त्यसले पनि हामीलाई समस्या पर्र्यो’, भरखरै मात्र नेशनल ट्रेडिङ्गको गोदाममा खटिएका आपूर्तिका सहसचिव रुद्रसिंह तामाङ्गले भने–‘हामीले सम्पूर्ण अवस्था लेखेर सम्बन्धित मन्त्रालयमा पठाएका छौं । अब समस्या नहोला ।’
एक दिन अघि मात्र गृहले ढुवानीका लागि भनेर दैवी प्रकोप कोषबाट २५ लाख रुपैया निकासा दिएको छ ।
गोदाममा विदेशी सहयोगबाट आएका त्रिपालसहितका खाद्यान्न समेत अड्किएर बसेका छन् । संयुक्त अरब इमिरेट्सको रेडक्रसले पठाएको १८ ट्रक सामाग्री समेत एक सातादेखि गोदाममै थन्किएको छ । रेडक्रसका प्रतिनिधिहरुले चाँडै प्रभावित क्षेत्रमा पुर्याइदिन वा आफैले लाने अनुमति दिनका लागि सरकारी प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । त्यसमा राजनीतिक भागवण्डा खोजेको तर आफूहरुले नदिंदा सामान अड्काएर राखेको रेड्क्रसका एक प्रतिनिधिले कान्तिपुरलाई बताए । ‘राजनीतिक भागवण्डा गर्ने सामाग्री होइन भनेर हामीले अनुमति दिएनौं’, उनले भने ।गोदाममै थन्किए सामाग्री
राहतमा राजनीतिक भागवण्डा खोजियो
भूकम्पले बढी प्रभावित जिल्लामा त्रिपालसहित राहत सामग्री आइनपुगेको गुनासो कायमै छ । यता, प्रभावित क्षेत्रमा पठाउने भनी स्वदेश र विदेशबाट जुटाएका सामग्री भने सरकारी गोदाममा थन्किएका छन् ।
फितलो व्यवस्थापन र ढुवानी खर्च समेतको अभावमा हप्तादिन देखि राहत सामग्री गोदाममा रोकिएको रहस्य खुलेको छ ।
सिंहदरवारस्थित नेसनल ट्रेडिङ्गमा एक सातादेखि करिव २५ हजारको संख्यामा त्रिपाल रोकिएर बसेका छन् । तत्कालै वितरण गर्नुपर्ने सामग्री यसरी रोकिएको भन्दै प्रभावित जिल्लाका सभासदहरुले विरोध समेत गरेका छन् । सम्बन्धित मन्त्रालयमा राजनीतिक भागवण्डाका लागि दवाव दिएका कारण ठूलो मात्रामा विदेशबाट आएका सामाग्री वितरण हुन सकेको छैन ।
‘पाल चाहियो भनेर माग गर्न आउने संख्या अझै घटेको छैन । गोदाममा रहेका पाल किन रोकिएको हो हामीले पनि थाहा पाउन सकेका छैनौं’ नेसनल ट्रेडिङ्गमा खटेका एक कर्मचारीले मंगलबार कान्तिपुरसँग भने । उनका अनुसार गोदाममा छिमेकी भारत, बंगलादेश र स्वदेशकै दाताहरुबाट उपलब्ध भएका २५ हजार वटा त्रिपाल छन् ।
थापाथलीस्थित खाद्य संस्थान र नेसनल ट्रेडिङ्गमै पनि चिउरा, चामल र दाल गोदामभरी थन्किएका छन् । केही खाद्य सामग्री कुहिएका छन् ।
त्रिपाल खरिदमा अनियमितता भएको आशंकामा आपूर्ति र शहरी विकास मन्त्रालयबीच कसले वितरण गर्ने भन्ने विवादले केही दिन लम्बिएको स्रोतले बतायो । सुरुमा शहरीले खरिद गरी वितरण पनि उसैले गर्ने भनेपनि पछि खाद्यसँगै त्रिपाल पनि आपूर्तिबाट वितरण गरिने व्यवस्था गरिएको छ ।
अनियमितता र अव्यवस्थापनको गुनासो प्रधानमन्त्री कार्यालयमा समेत पुगिसकेको छ । सरकारी संयन्त्रबीच पर्याप्त समन्वय नभएको जिल्ला तहबाट गुनासो बढेपछि प्रधानमन्त्री सुशिल कोइरालाले सम्बन्धित मन्त्रीलाई बोलाएर ध्यानाकर्षण गराएको बालुवाटार स्रोतले बतायो ।
ढुवानीको पैसा रोकिदा समेत सामाग्री गोदाममा थन्किएको पाइएको आपूर्ति मन्त्रालयका अधिकारीले जानकारी दिए ।
‘जिल्लामा सामग्री पुर्याउने ट्रकलाई पैसा दिन केही दिन ढिला भएको हो । त्यसले पनि हामीलाई समस्या पर्र्यो’, भरखरै मात्र नेशनल ट्रेडिङ्गको गोदाममा खटिएका आपूर्तिका सहसचिव रुद्रसिंह तामाङ्गले भने–‘हामीले सम्पूर्ण अवस्था लेखेर सम्बन्धित मन्त्रालयमा पठाएका छौं । अब समस्या नहोला ।’
एक दिन अघि मात्र गृहले ढुवानीका लागि भनेर दैवी प्रकोप कोषबाट २५ लाख रुपैया निकासा दिएको छ ।
गोदाममा विदेशी सहयोगबाट आएका त्रिपालसहितका खाद्यान्न समेत अड्किएर बसेका छन् । संयुक्त अरब इमिरेट्सको रेडक्रसले पठाएको १८ ट्रक सामाग्री समेत एक सातादेखि गोदाममै थन्किएको छ । रेडक्रसका प्रतिनिधिहरुले चाँडै प्रभावित क्षेत्रमा पुर्याइदिन वा आफैले लाने अनुमति दिनका लागि सरकारी प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
त्यसमा राजनीतिक भागवण्डा खोजेको तर आफूहरुले नदिंदा सामान अड्काएर राखेको रेड्क्रसका एक प्रतिनिधिले कान्तिपुरलाई बताए । ‘राजनीतिक भागवण्डा गर्ने सामाग्री होइन भनेर हामीले अनुमति दिएनौं’, उनले भने ।
५ जेठ, धादिङ । ‘भूकम्पले गर्दा गाउँका सबै घर भत्किए । खानेकुरा सवै पुरियो । अलिअलि सद्धे भएका घरमा गएर अन्नपात निकाल्न पनि माथिबाट लगातार ढुङगा झरिरहेको थियो । भूकम्प भएको चौथो दिनसम्म पनि कहि कतैबाट सम्पर्क हुन नसक्दा सबैजना खोला माथिको खुल्ला चौरमा जम्मा भएर बस्यौ । खानेकुरा खान नपाएर बच्चाहरु भुइँको माटो समेत कोपर्न थाले । जात्रा भयो, आपत पर्न थाल्यो ।’
भूकम्पपछि भागदौड गर्ने क्रममा नै माथिबाट खसेको पहिरोले पुरेर ४ जनाको मृत्यु भयो भने २२ जना घाइते भए । तिङचेत कै टेक बहादुर तामाङ भन्छन, ‘घर भत्किएर र घरले पुरिएर कोही मरेका थिएनन, डरले यताउता गर्ने क्रममा चार जनालाइ पहिराले पुर्यो ।’
५ जेठ, बारपाक, गोरखा । महाभूकम्पको केन्द्रविन्दु बारपाकबासीलाई अहिले राहतको भन्दा पनि पुनः निर्माणको चिन्ताले सताएको छ । चिटिक्क परेको बारपाक गाउँँ यतिबेला खण्डहर बनेको छ । १४ सय बढी घरधुरी रहेको बारपाकमा कुनै पनि घर बस्न लायक छैनन् ।
बारपाकबासीलाई अहिले दैनिकी चलाउने भन्दा पनि आफ्नो गाउँको अस्तित्व मेटिने हो कि भन्ने चिन्ता छ । विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाले भूकम्प प्रतिरोधात्मक घरको खाका पेस गरिरहेका बेला उनीहरुले भने पहिलेकै जस्तो परम्परागत र मौलिक शैलीकै घर बनाइदिन माग गरेका छन् ।
बारपाकमा पुनःनिर्माणको खाका बनाउन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले नेतृत्वको टोली आइतबार गाउँ पुग्दा स्थानीयबासीहरु आफ्नो बस्तीको भविष्यबारे जान्न आतुर देखिन्थे ।
बारपाकलाई फेरि पनि पुरानै वैभवमा कसरी फर्काउन सकिन्छ ? हामी बारपाकमा यहाँहरुसँग मिलेर काम गर्न चाहान्छौं, तपाईहरुको चाहना के छ ? सुरुमै शेष घलेले गाउँलेहरुलाई जिज्ञासा राखे ।
गाउँलेले आफुहरु बारपाक छाडेर अन्यन्त्र जान तयार नरहेको बताए । यही ठाउँमा भूकम्प प्रतिरोधी घर बनुन् र पहिलेजस्तै गाउँमै बस्न सकियोस् भन्ने गाउँबासीको एउटै स्वर देखिन्थ्यो ।
‘हामीलाई पहिलेकै जस्तो ढुंगाले छाएको घर चाहिन्छ । बरु त्यसलाई कसरी भूकम्पले नढल्ने बनाउन सकिन्छ इञ्जिनियरहरुले डिजाइन गर्नुपर्यो,’ स्थानीय जीतबहादुर घलेले भने- ‘हाम्रो बाउँबाजेले जोगाएको अस्तित्व नमेटियोस् ।’
भूकम्पको केन्द्रविन्दु बारपाकमा फेरि बस्ती बसाउन मिल्ने वा नमिल्ने भन्नेबारे अहिलेसम्म बिज्ञहरुले सुझाव दिइसकेका छैनन् । भूकम्पले वस्ती र आपसापका डाँडासमेत धाँजा फाटेका कारण फेरि बस्ती बस्न नसक्ने सुझाव आउला कि भन्ने चिन्ता छ गाउँलेहरुलाई ।
बारपाकबासीको मुख्य आय श्रोत पर्यटन भएकाले पनि उनीहरु आफ्नो मौलिकतालाई कायमै राख्न जोड-तोडका साथ लागि परेका छन् । करिव १४ सय घर परिवार रहेको गुरुङ गाउँ बारपाकलाई पर्यटकीय केन्द्र बनाउने गरी पुनःनिर्माण होस् भन्ने उनीहरुको चाहाना देखिन्छ ।
सरकार वा कुनै संस्थाले पूर्ण लगानी गरेर आफ्ना घर बनाइदियोस् भन्ने पक्षमा पनि देखिन्नन् उनीहरु । थोरै-धेरै आफै लगानी गर्न पनि तयार छन्, तर भूकम्प प्रतिरोधी प्रबिधिका लागि अन्य संस्थाको सहयोग पनि चाहान्छन् ।
बारपाकका धेरै परिवारका सदस्यजन विदेशमा समेत छन् । भूकम्प गएपछि लण्डनमा पढ्दै गरेकी शीला घले यतिबेला गाउँ फर्केकी छिन् । उनी भन्छिन्- लण्डन र काठमाडौंमा घर भएका मानिसको पनि यहाँ घर छ । उनीहरु वर्षको एकपटक गाउँ आउँछन्, हामी आफ्नो जन्मथलो फेरि उस्तै बनाउन चाहान्छौं ।’
विदेशमा रहेका सबै बारपाकीहरु भूकम्पपछि गाउँ फर्केर पीडितको सेवामा खटिएका छन् । यहाँका स्थानीयबासीको एकता साँच्चै लोभलाग्दो छ । सहयोगमा प्राप्त खाद्यान्न र तरकारीमात्र हैन, त्रिपाल, कम्बल पनि उनीहरुले गाउँलेलाई चित्त बुझाएर बाँड्छन्, कसैले गुनासो गर्नुपर्ने अबस्था आउँदैन ।
बारपाकमा जातीय विभेद र छुवाछुत हटिसकेको छ । दलित र गुरुङहरुबिच विवाह भएका उदाहरण पनि छन् । कुनै-कुनै घरमा बाहेक छुवाछुतको मतलब छैन । राहत वितरणमा अन्य जिल्लामा जस्तो असुरक्षा पनि छैन, बारपाकबासीहरु सबै मिलिजुली राहत लिन्छन् ।
प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताले बारपाकको अवलोकन गरिसकेका छन् ।
गाउँमा बस्ने स्थानीयवासीको चाहनाप्रति अध्यक्ष घलेले खुसी ब्यक्त गरे । ‘यति सुन्दर गाउँ घाडेर नजानुस्, यहीँ सम्भावना खोज्नुस्, त्यसका लागि तपाईहरुसित हातेमालो गर्न हामी तयार छौं,’ अध्यक्ष घलेले भने-‘तपाईंहरुको आत्मबल बढाउन, दुखेको घाउमा मल्हम लगाएर फेरि सुन्दर भविष्यको खाका बनाउन हामी सधैं यहाँहरुको साथमा हुने छौं ।’
बारपाकमा फेरि बस्ती बसाउन योग्य छ भन्ने विज्ञ र सरकारको सिफारिस आएपछि मात्र कसरी र कस्ता घर बनाउने भन्ने विषयमा छलफल अगाडि बढाउन सकिने घलेले बताए ।
करिब डेढ घण्टा गाउँलेहरुसँग छलफल गरेपछि छुटिनेबेला घलेले भने-‘हामी अहिले पनि अध्ययनकै चरणमा छौं, तपाईंहरुको चाहना हामीले बुझ्न पायौं, अब कसरी सहयोग गर्न सकिन्छ भन्ने खाका बनाउनेछौं ।’
४ जेठ, काठमाडौं । बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी भारतीय एक नर्सको सोमबार मृत्यु भएको छ। मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतीय सञचारमाध्यमका अनुसार शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि तीनदिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
नोभेम्बर २७, १९७३ मा उनलाई किंग एडवार्ड मेमोरिअल अस्पताल सोहनलाल बार्था वाल्मिकी भन्ने ‘स्वीपर’ले अस्पतालको भुँइतल्लामा कपडा फेर्दै गरेको अवस्थामा बलात्कार गरेका थिए । कुकुर बाँध्ने शिक्रीले मुख बाँधेर क्रुर शैलीमा अप्रातिक ‘गुदा मैथुन’ गरेका थिए । मुख थुनिएर अक्सिजन उनको दिमागमा पुग्न बाट रोकिन गइ उनको शरीरका धेरै अंगहरु दिर्घकालिन आघात पुगेको थियो ।शरीर चलाउन नसक्ने स्थितिकी पिडित त्यसपछि कोमामा गएकी थिइन् ।
सोहनलाललाई अदालतले डकैती र ज्यान मार्ने उद्योगको आरोपमा ७-७ बर्ष गरि १४ बर्ष जेल सजाय दिएको थियो l सोहनलाललाइ बलात्कार र अप्रकातिक यौनको लागी मुद्दा चलाइएन । समाचार माध्यमका अनुसार पिडितलाई सामाजिक बाहिस्कार हुने डर र उनको हुन लागेको बिबाह बिग्रने चिन्ताका कारण अस्पतालका डीनले बलात्कारको मुद्धा दायर गर्न मानेन ।
यसअघि शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले भारतको उच्च अदालतमा शानबागको इच्छा मृत्युको माग गरेकी थिइन्। यद्यपी अदालतले उनको माग खारेज गरेको थियो।
४ जेठ, काठमाडौं । विनाशकारी महाभूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र रसुवाका सबै घर ध्वस्त भएको प्रारम्भीक तथ्यांक आएको छ । गृह मन्त्रालयका अनुसार काभ्रे र गोरखाका पनि अधिकांश घर भत्किएका छन् ।
गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार सिन्धुपाल्चोकका ६६ हनजार ६८८ घर मध्ये ६३ हजार ८८५ ध्वस्त भएका छन् । २ हजार ७५१ मा आंशिक क्षति भएको सरकारी तथ्यांक छ । यसरी हेर्दा सिन्धुपाल्चोकमा ५१ घर मात्र बाँकी देखिन्छ ।
भूकम्पले जिल्लाका सबै ५५७ विद्यालयको भवनहरू भत्किएका छन् भने प्रहरी चौकी, स्वास्थ्य चौकीदेखि सरकारी कार्यालय समेत ध्वस्त भएका छन् । सिन्धुपाल्चोकमा मात्र ३ हजार ४२४ जनाको मृत्यु भएको छ । ८ सय ५९ जना घाइते भएका छन् ।
दोलखामा सबै घर भत्किएका छन् । वैशाख १२ गतेको भूकम्पबाट समान्य क्षति भएका घरहरु २९ गतेको भूकम्पले बाँकी राखेन । दोलखामा ४८ हजार ८८० घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने ३ हजार १२० घरमा आंशिक षति पुगेको छ ।
दोलखामा मानवीय क्षति भने सिन्धुपाल्चोकको तुलानामा कम छ । जिल्लामा १६१ जनाको मृत्यु भएको छ भने ३०४ जना घाइते भएका छन् । धेरैको मृत्यु २९ गतेको भूकम्पले भएको छ ।
नुवाकोटमा ३६ हजार ९७३ घर पूूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ४२०० घरमा आंशिक क्षति भएका छन् । जिल्लामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ । १ हजार ३११ घाइते भएका छन् ।
रसुवामा अब केही घर मात्र बाँकी छ । ९ हजार ७७८ घर रहेकोमा भूकम्पले ७ हजार ४० ध्वस्त भएका छन् भने २४ सय बढीमा क्षति पुगेको छ । लाङटाङ बस्ती नै हिमपहिरोले पुरेर खण्डहरमा परिणत भएको छ । रसुवामा मात्र ५७९ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार काभ्रेमा पनि भूकम्पले अधिकांश घरमा क्षति पुगेको छ । ४९ हजार ९३३ घर ध्वस्त भएका छन् भने २३ हजार ७१४ मा क्षति पुगेको छ । केही हजार घरहरु मात्र बाँकी छन् । विनाशकारी भूकम्पका कारण काभ्रेमा ३१८ को मृत्यु भएको छ भनेे २ हजार ७८० जना घाइते भएको सरकारी तथ्यांक छ ।
रामेछापमा ३९ जनाको मृत्यु भएको छ । २६ हजार ७४३ घर ध्वस्त भएका छन् भने १३ हजार बढी घरमा आंशिक क्षति पुगेको छ ।
वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्र विन्दु रहेको गोरखामा पनि अधिकांश घरहरु ध्वस्त भएका छन् । त्यहाँ ४४ हजार ६५० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १३ हजार ४३० मा आंशिक क्षति पुगेको छ । भूकम्पको केन्द्रविन्दु रहेको बारपाकसँगै लाप्राक गाउँको तस्तित्व नै खतरामा परेको छ । गोरखामा मृत्यु हुनेको संख्या ४३० पुगेको छ ।
काठमाडौंका झण्डै साढे ४ लाख घरहरु मध्ये ३६ हजार ९७३ पूर्ण रुपमा ध्वस्त भएका छन् । ५० हजार ७५३ घरमा क्षति पुगेको छ । सरकारी तथ्यांक अनुसार काठमाडौंमा ४ लाख ३६ हजार ३४४ घर छ ।
मानवीय क्षति भने सिन्धुपाल्चोकपछि बढी काठमाडौंमा भएको छ । काठमाडौंमा मृत्यु हुनेको संख्या १ हजार १२४ पुगेको छ भने ४ हजार ६३९ घाइते भएका छन् । धरहरा ध्वस्त भएको छ भने बसन्तपुर लगायतका सांस्कृतिक सम्पदाहरुमा ठूलो क्षति पुगेको छ ।
भक्तपुरमा १८ हजार ९०० घरहरु पूर्णरुपमा भत्किएका छन् भने ९ हजार ९० मा क्षति पुगेको छ । ललितपुरमा १६ हजार २४४ घर ध्वस्त भएका छन् । ५ हजार ८५१ घरमा आंशिक क्षति पुगेको छ । भक्तपुरमा ३२७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।
ललितपुरमा झण्डै १ लाख १० हजार घर रहेकोमा १६ हजार ३४४ पूर्ण रुपमा ध्वस्त भएका छन् । ५ हजार ८५१ घरमा आंशिक क्षति पुगेको छ । १८१ जनाको मृत्यु भएको पुष्छि भएको छ भने २ हजार ५२९ जना घाइते भएको गृहले जनाएको छ ।
सिन्धुलीमा १२ हजार ७०४ घर भत्किएका छन् भने ८ हजार बढीमा क्षति पुगेको छ । मकवानपुरमा १५ हजार घर ध्वस्त भएका छन् । १७ हजार बढी घरमा क्षति पुगेको छ । ओखलढुंगामा १० हजार ६ सय घर पूर्ण रुपमा भत्किएका छन् । ३ हजार बढी घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
विनाशकारी भूकम्पका कारण ४ लाख ८८ हजार ७८९ घर पूर्ण रुपमा भत्किएका छन् । २ लाख ६७ हजार ४७७ घरमा क्षति पुगेको सरकारी तथ्यांक छ ।
४ जेठ, काठमाडौं । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोमा परी हराइरहेका नेपाली सेनाका परिवारले सरकारसँगं कि लास देखाइ दिन नत्र श्वास भेटाउन आग्रह गरेका छन् । उक्त हिमपहिरोमा परी उपसेनानी सविन खड्कासहित अन्य दर्जाका नौ जना नेपाली सेनाहरु अझै बेपत्ता भएका छन् ।
रसुवाको धुन्चे स्थितित नारायाणदल गणमा कार्यरत खड्कासहित अन्य नौ जना सेनाको खोजी कार्यमा नेपाली सेनाले ढिलाई गरेको पीडित आफन्तहरुको गुनासो गरेका छन् ।
रफत सञ्चार क्लबले भक्तपुरमा सोमवार पीडित आफन्तहरुसँग गरेको साक्षत्कार कार्यक्रममा उनीहरुले छिटो भन्दा छिटो खोजी कार्यलाई तीब्रता दिन सरकार रनेािली सेनासँग आग्रह गरेका हुन् ।
लाङ्टाङ्ग राष्ट्रिय निकुन्जको सुरक्षामा पोष्टमा १८ जना सेनाका जवान मध्ये ६ जना विदा रहेको १ जना फोन गर्न बाहिर गएको र अन्य दश भने बेपत्ता रहेको हराइरहेका मदन जलारीका दाजु बिकाश जलारीले बताए ।
खटिएका सेनाहरुको भूकम्प गए लगत्तै आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएको सेनाले खोजी कार्यमा ढिलाई गरेको उपसेनानी सविन खड्काका पिता देवराज खड्काले बताए ।
सोमराज कुमालका अभिभावक लालबहादु कुमाल सेनाले खोजी कार्य तीब्र गर्नुपर्ने अन्यथा आफूहरु नै कुटो कोदालो लिएर खोजी कार्यमा जाने बताए ।
हिमपहिरोले नेपाली सेनाका सिपाइहरु पुरिएकाले सेनाको हेडक्वाटरले खोजी कार्यमा तिब्रता नदेखाएको समेत उनीहरुको गुनासो छ ।
उनीहरुले एकै स्वरमा भने, ‘विशिष्ट व्यक्ति पुरिएको भए अहिलेसम्म खोजी कार्य भइसक्यो तर सामान्य दर्जा भएन खोजी हुन सकेन, अब हामीलाई कि हाम्रो छोराहरुको लास चाहियो कि त श्वास चाहियो ।’
पिडितहरुले खोजी कार्य ढिलाई भए यसको घाटा सेनालाई नै हुने भएकाले तिब्र गतिमा खोजी कार्य गरिदिन नेपाली सेनालाई आग्रह गरेका छन् ।
हिमपहिरोमा परी पुरिने सेनामा उपसेनानी खड्का, हल्बलदार ओमहरी कार्की, जयकुमार माझी, प्यूठ कुमार गुरुङ्, सिपाई फुर्बा तामाङ् रहेका छन् ।
त्यसै गरी अन्यमा विरेन्द्र मण्डल, मदन जलारी, सोमराज कुमाल, महेन्द्र आले, रामचन्द्र मण्डल सहित १० जना रहेका छन् ।
यता जिल्ला प्रशासान कार्यलय रसुवामा भने दैनिक जसो हराइरहेका आफन्तको बारेमा बुझ्न आउनेको भिड् लाग्ने गरेको छ । रसुवाको लाङटाङमा भुकम्प पश्चायत गएको हिम पहिरोमा परी ३ सय ७३ जना भन्दा धेरै मानीस हराइरहेको सरकारी तथ्यांक रहेको छ ।
४ जेठ, काठमाडौं । गत वर्ष बैशाख ५ गते ( अप्रिल १८) मा सगरमाथा बेस क्याम्प नजिकै गएको हिमपहिरोमा परी १६ जना नेपाली गाइडहरुले ज्यान गुमाएपछि गत वर्षको पहिलो सिजनको सगरमाथा आरोहणमा रोक लगाइएकोमा यस वर्ष पनि वैशाख १२ गते (अप्रिल २५) मा विनाशकारी भूकम्पपश्चात सगरमाथा आरोहणमा रोक लगाइएको छ ।
भूकम्प पश्चात सगरमाथा क्षेत्रमा लगातार ठूला साना पराकम्पनहरु गइरहेको र यसले हिमपहिरोको जोखिम हुने भएकाले सगरमाथा आरोहणमा रोक लगाइएको नेपाल पर्वतारोण संघले जनाएको छ । संघका अध्यक्ष आङछिरीङ शेर्पाले सगरमाथा आरोहणमा रोक लगाउँदा सरकार सँगै यस क्षेत्रका व्यवसायी, मजदुर तथा स्वयं पर्वत आरोहीहरुलाई समेत नोक्सानी हुने भएपनि प्रकृतिलाई चुनौति दिन नसकिने भएकाले आरोहणमा रोक लगाइएको उनले बताए ।
एक वर्षमा दूई सिजनमा गरिने पर्वत आरोहणबाट एक सिजनमा मात्र सरकारलाई रोयल्टी बापत ४० करोड रुपैयाँ प्राप्त हुन्छ । यसबाहेक एक सिजनमा कुल दूई अर्ब भन्दा बढी आम्दानी हुने शेर्पा बताउँछन् । तर गत वर्ष आएको हिम पहिरो तथा यस वर्षको विनाशकारी भूकम्पका कारण आरोहणमा रोक लगाउँदा अर्बाैंको नोक्सानी भएको शेर्पाले बताए । आरोहणमा रोक लगाउँदा तर्पm आर्थिक नोक्सानी हुने र पर्यटकहरुमा समेत नकारात्मक सन्देश जाने भएपनि भूकम्प पश्चात जाने पराकम्पनका कारण ठूलो मानविय क्षती हुनसक्ने भएकाले रोक लगाइको शेर्पाले बताए ।
रातोपाटीसँग कुरा गर्दै शेर्पाले भने, ‘सगरमाथा आरोहणमा रोक लगाउँदा आर्थिक रुपमा त निकै ठूलो नोक्सानी व्योहोर्नुपर्छ तर आर्थिक नोक्सानी भन्दा मानविय नोक्सानी ठूलो हुन्छ त्यसैले जोखिम मोलेर आरोहण गर्ने कार्यलाई स्थगित गर्नु पर्यो ।’ दुई वर्षसम्म लगातार दुई सिजनमा आरोहणमा रोक लगाउनु रहर नभई बाध्यता भएको भन्दै उनले प्राकृतिक विपत्तिका अगाडी कसैको केही नलागने बताए ।
यो वर्ष पनि विनाशकारी भूकम्प पश्चात सगरमाथा क्षेत्रमा गएको हिम पहिरोमा परी आरोहणमा गएका १६ नेपाली सहित १८ जनाले ज्यान गुमाएका थिए भने कयौं घाइते अवस्थामा रहेका छन् । सगरमाथा आरोहणका क्रममा एक सिजनमा करिब ४१ देखि ४२ हजारसम्म जनशक्तिले रोजगारी पाउने शेर्पा बताउँछन् ।
प्राकृतिक विपत्तिका कारण आरोहणमा रोक लगाएपछि ठूलो संख्यामा बेरोजगारीको अवस्था समेत सिर्जना भएको छ । भूकम्प पश्चात नेपाल तर्फबाट आरोहणमा रोक लगाइएपछि आरोहीहरुले चिनको तिब्बत क्षेत्रबाट सगरमाथाको आरोहण गर्ने बारेमा पनि योजना बनाएका थिए । तर हाललाई जोखिमलाई मध्यनजर गर्दै चिन तर्फबाट पनि आरोहणमा रोक लगाइएको शेर्पाले जानकारी दिए ।
यो सिजनमा रोक लगाइएपछि अवस्था सामान्य रहेमा अर्काे सिजनमा भने आरोहणको कार्यले निरन्तरता पाउने शेर्पाले जानकारी दिए ।